गोदावरी वनस्पति उद्यानमा नयाँ ३०० वनस्पति पहिचान
कपन अनलाइन, ललितपुर, ५ पुस, २०७३
गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा एक दशकमा थप ३०० प्रजाति वनस्पतिको पहिचान भएको छ । सन् २००३ मा भएको अध्ययनमा उद्यानमा ५५० प्रजाति पाइएकामा अहिले ८६० प्रजातिको पहिचान भएको हो । उद्यानले अहिले गरिरहेको वनस्पतिको अभिलेखीकरणमा ती वनस्पतिको पहिचान भएको उद्यान अधिकृत सिर्जना शाहले बताइन् ।
नयाँ बिरुवा अन्यत्रबाट ल्याएर थप भएकाभन्दा पनि उद्यानकै पहिले पहिचान नभएका बिरुवा अहिले पहिचान हुँदा वनस्पतिका प्रजाति थप भएको उद्यानले बताएको छ । फूूल फुल्ने कतिपय वनस्पति नफुल्दासम्म बोट उस्तै देखिए पनि फुलेपछि फरक देखिन्छन् । उनी भन्छिन्, “यहाँ लामो समयसम्म रहेका कतिपय वनस्पति पनि धेरै समयपछि मात्रै पहिचान भएका छन् ।”
उन्यु, अर्किड, सुनाखरीलगायतका वनस्पतिको प्रजाति अहिले थप पहिचान भएको छ । उद्यानमा घुम्नका लागि मात्रै नभएर अध्ययन, अवलोकन गर्न पनि धेरै नेपाली र विदेशी बर्सेनि आउने गरेका छन् । (फाइल फोटो)