(यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग १ रनले पराजित

 

कपन अनलाइन, काठमाडौँ, ३० मङ्सिर ।

श्रीलङ्कामा आजदेखि सुरु भएको १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग झिनो रनले पराजित भएको छ ।
कोलम्बोमा भएको खेलमा श्रीलङ्काले नेपाललाई एक रनले पराजित गरेको हो । श्रीलङ्काले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो । जित नजिकै पुगेको नेपाल अन्तिम ओभरको तेस्रो बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आउट भएपछि न पराजय भोग्न बाध्य बन्यो । अन्तिम ओभरमा आठ रन आवश्यक परेका बेला ऐरी क्रिजमा थिए । उनले पहिलो बल डट खेले, दोस्रो बलमा छक्का हाने र दुई रन आवश्यक परेका बेला तेस्रो बलमा आउट भएपछि नेपालको हार निश्चित हुन पुग्यो ।

पाँचौँ नंमा ब्याटिङ गर्न प्रवेश गरेका दीपेन्द्रसिंहले सर्वाधिक ९० रनको योगदान दिए । उनान्सय बल खेल्दै खेलेका ऐरीले एक छक्कासहित नौ छक्का प्रहार गरे । त्यसैगरी अविनाश कर्णले ४० र अदिल खानले ३९ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २२७ रनको योगफल तयार गरेको थियो । श्रीलङ्काको जितमा हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलङ्काका लागि रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

बलिङतर्फ नेपालका कमल सिंहले तीन विकेट लिए भने पवन सर्राफले दुई तथा दीपेन्द्रसिंहले एक विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् । नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

-रासस

तपाइँको प्रतिक्रिया ।