विपन्न वर्गलाई केन्द्रित गरेर गगन थापाले ल्याए १५ वर्षे स्वास्थ्य रणनीति

कपन अनलाइन, काठमाडौँ, ३० मङ्सिर, २०७३

 स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका विपन्न, सुकुम्बासी, सडक बालबालिका, आप्रवासी कामदार, सीमान्तकृतलाई स्वास्थ्यको पहुँचमा ल्याउन पन्ध्र वर्षीय रणनीति ल्याएको छ । सेभ द चिल्ड्रेन सँग मिलेर बनाइएको ‘स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय रणनीति (विसं २०७३–२०८८) आज सार्वजनिक गरिएको हो । पहुँच बाहिर रहेका वर्ग र समुदाय, पिछडिएका जातजाति÷धार्मिक समूह, दुर्गम क्षेत्र, विपन्न, सुकुम्बासी र सडक बालबालिका, आप्रवासी कामदार, फरक क्षमता भएका व्यक्ति, एचआइभी सङ्क्रमित, महिला यौनकर्मी, कैदीबन्दी अल्पसङ्ख्यक समूह एवं स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई आधारभूत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग वृद्धिका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने एवम् आधारभूत पूर्वाधार र लगानीको उपलब्धतामा सुधार ल्याउने उद्देश्य पूरा गर्नका लागि विभिन्न रणनीति बनाइएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सेवाको दायराभित्र पर्न नसकेका वा पहुँच बाहिर रहेका सबैलाई संविधानले प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सेवा पुर्याउन आवश्यक रहेकाले सो रणनीतिको आवश्यकता परेको बताउँदै हालसम्म स्वास्थ्यमा आफ्नो पहुँच बनाउन नसकेका समूहमा स्वास्थ्य सेवासहित पुग्नु र सर्वव्यापक स्वास्थ्य उपलब्धतामा योगदान पु¥याउनु रणनीतिको लक्ष्य भएको बताए । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य र पोषण असमानता न्यूनीकरणका लागि र सर्वव्यापक स्वास्थ्य उपलब्धतामा योगदान गर्न तयार पारिएको सो रणनीतिलाई आफ्नो प्रणालीभित्रको नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१५–२०२०)मा समावेश गरिसकिएको र कार्ययोजना तर्जुमासहित कार्यान्वयनको प्रक्रियामा जाने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।