मन्त्री गगन थापाको पहलमा भोलि बाट निजी अस्पतालहरूले पनि विपन्नलाई १० प्रतिशत निःशुल्क सेवादिने

कपन अनलाइनमंसिर ३०,काठमाडौं ।

भोलि पुस एक गतेदेखि सबै निजी तथा सामुदायिक अस्पतालहरुले गरिब, एकल महिला तथा जेष्ठ नागरिकहरुलाई १० प्रतिशत निशुल्क सेवा दिनुपर्ने भएको छ। स्वास्थ्य मन्त्री गगन थापाको पहलमा निजी अस्पतालहरुले पनि विपन्नलाई १० प्रतिशत नि:शुल्क सेवा कडाइका साथ लागू गर्ने बताएका हुन्।

मन्त्रि थापाले भने ‘हामीले निजी अस्पतालका सञ्चालकहरुसँग लामो छलफलपछि सहमति गरेर मन्त्रालयले १० प्रतिशत सेवा कार्यान्वयनलाई कठाइका साथ लागू गर्न लागेका हौं, अब निजी अस्पतालमा पनि सर्वसाधारणले औषधि र शल्यक्रिया बाहेक चिकित्सकीय परामर्श, प्रयोगशाला शुल्क, नर्सिङ शुल्क, अक्सिजनसेवामा १० प्रतिशत सेवा पाउने छन्’ उनले भने।

गरीब,असहाय, अपाङ्ग, एकल महिला भएको सिफारिस गाविस,जिल्ला प्रशाशन कार्यालय र जिल्ला जन स्वास्थ्य कार्यालयबाट ल्याएमा उनीहरुले निशुल्क पाउनेछन्।

त्यस्तै काठमाडौँको वीर अस्पताल र स्वास्थ्य मन्त्रालयले सिफारिस गरेमा पनि निशुल्क उपचार पाउने मन्त्री थापाले बताए। आफू विपन्न नागरिक भएको सिफारिस लिएर फाराम भरेपछि अस्पतालले १० प्रतिशत सेवा निशुल्क दिनुपर्नेछ। यसरी भरिएको फाराम अस्पतालले सार्वजनिक गर्नुपर्ने हुँदा बिपन्न तथा असाहयले मात्र सेवा पाउनेमा आफु विश्वस्त रहेको मन्त्री थापाले बताए।

निजी अस्पताल सञ्चालकसँग भएको सहमति अनुसार विरामीले सेवा सुविधा नपाएमा जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभागलाई गुनासो गर्न सकिने मन्त्री थापाले जानकारी दिए। यस्तै निजी अस्पतालहरुले १० प्रतिशत उपचार सेवा विरामीलाई प्रदान गरे नगरेको विषयमा मन्त्रालय अन्तर्गत रहेको चिकित्सा महाशाखाका निर्देशकको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति समेत बनाइएको छ। महंगो अपरेशन र औषधीमा पनि १० प्रतिशत छुटको गर्ने बारेमा छलफल भइरहेको मन्त्री थापाले बताए।

अर्को प्रसंगमा मन्त्री थापाले माघसम्म पनि विना दर्ता सञ्चालन हुने निजी स्वास्थ्य संस्थाहरुलाई कारबाही गरिने जानकारी दिए। उनले भने ‘देशभर अहिले पनि विना दर्ता निजी स्वास्थ्य संस्थाहरु सञ्चालन हुँदै आइरहेका छन्, काठमाडौं उपत्यकामा मात्र ६० प्रतिशत निजी स्वास्थ्य संस्थाहरु विना दर्ता सञ्चालनमा रहेका छन्, माघ महिनापछि पनि यी संस्थाहरु विना दर्ता सञ्चालन भएको पाइयो भने हामी कारवाहीको दायरामा ल्याउछौं।’

तपाइँको प्रतिक्रिया ।