एमाले काठमाडौँका अध्यक्ष निर्मल कुइंकेलसंगको महत्वपूर्ण राजनीतिक वार्ता

देशको राजधानी काठमाडौं नेकपा एमालेको उर्बर भूमि मानिन्छ(संबिधानसभाको निर्वाचन बाहेक अरु चुनावलाई मध्ये नजर गर्दा) अत्यन्त राम्रो कार्यकर्ता पंक्ति तथा चुस्त सांगठनिक इकाईहरुका कारण विपक्षका लागि काठमाडौं सँधै फलामको च्युरा बन्ने गरेको छ । यसरी संगठनलाई गतिशील बनाउन संगठनका क्षेत्रमा काम गर्ने बिभिन्न नेताहरुको ठूलो हात छ । ती हातहरुमध्ये आफूलाई संगठनको भूमिकामा नै बढि रुचाउने अध्ययनशील तथा प्रष्टवत्ता निर्मल कुइँकेल पछिल्ला दिनमा एमाले काठमाडौंलाई हाँक्ने युवा नेता हुन् । २५ वर्षे आफ्नो कार्यकालमा करिब ९० प्रतिशत समय संगठन निर्माणमा होमिएका काठमाडौं निबासी निर्मल कुइँकेल दागरहित र खट्न सक्ने व्यक्तिको रुपमा चिनिन्छ । २०२६ सालमा जन्मिएका निर्मल कुइँकेल अनेरास्ववियु पाँचौंदेखि राजनीतिक आयाममा घचेटिएका हुन् । निर्मल कुइँकेललाई भावी निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ का एमाले उम्मेदवार मात्र हैन सांसदको रुपमा पनि लिने गरिन्छ । काठमाडौं जिल्लाका एमाले अध्यक्ष निर्मल कुइँकेलसँग कपन अनलाइनले गरेको राजनीतिक वार्ता ः

प्रश्नः जतिखेर राजनीतिमा हात हाल्नु भयो, राजनीति के होला जस्तो लाग्थ्यो ?

निर्मल कुइँकेल ः म आठ कक्षामा पशुपति मित्र माविमा पढ्दाखेरी देखि राजनीतिमा लागेको हुँ । अनेरास्ववियुमा संलग्न भएँ । विस्तारै कम्युनिस्ट पार्टीको इतिहास, नेल्सन मण्डेलाको किस्साहरु, पञ्चायत कालका विभिन्न घटना जस्तै ०२८ सालको झापा विद्रोहलगायत विभिन्न सन्दर्भले मलाई राजनीतितिर नजिक्याएको हो । ठूला नेताहरुले घरबार त्यागेर देशका निम्ति समर्पित हुन सक्छन् भने हामी किन नलाग्ने भन्ने जास्तो लागेर राजनीतिलाई अगाडि बढाएँ । मेरो घर रहेको पशुपति क्षेत्रमा त्यतिखेर रहेका सामाजिक संघसंस्थामा पनि त्यतिखेरका अग्रज दाइहरुले सुनाउने बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्दर्भले राजनीतिमा बढ्ने हौसला मिल्यो । देश परिवर्तन त्यो पनि निम्न वर्गीय जनताको लागि त्यसको सम्भावना चाहिँ राजनीतिबाटमात्रै हुन्छ भन्ने लागेर यो क्षेत्रमा आइयो । यही क्रममा शुरुमा पशुपति मित्र माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आबद्ध भएँ । त्यसपछि अनेरास्ववियूकै पूर्वि इलाकीय कमिटिमा आबद्ध भए । त्यो बेला पूर्वी इलाका भन्नाले सुन्दरीजलदेखि साँखु सम्म पथ्र्यो । यस कमिटिले नगरपालिकाको पनि ६,७,र ८ वडा पनि हेथ्र्यो । यो कमिटिमा कोषाध्यक्ष भएर काम गरेँ । ०४६ को जनआन्दोलन पूर्व युव संघ हँुदै नेकपा मालेमा संगठित भएँ । ०४७ मा पार्टी एकिकरण भएपछि ८ नं. वडा कमिटिमा सचिव भएर रहेँ । पछि इलाकीय कमिटिमा सदस्य हुँदै विशेष जिल्ला कमिटि(क्षेत्र नं.२) सदस्य भएँ । विशेष जिल्ला कमिटिमा सचिब भएपछि काठमाडौं जिल्लाको सदस्य भएँ । ०६७ सालको पौषबाट काठमाडौं जिल्ला अध्यक्ष भएको छु । संगठनमा नै काम गरेँ ।

प्रश्न ः त्यतिबेला सोचिने कम्युनिस्ट हुनुको महत्व र आजका कम्युनिस्टबीच के भेद पाउनु हुन्छ ? के उस्तै लाग्छ ?

निर्मल कुइँकेल ः ठूलो फरक छ । त्यतिखेर हामीमा ठूलो अनुशासन थियो । माओत्सेतुङ ले भनेजस्तै जनतासँग सियो,धागोसम्म नलिनु, जनताको बालीनाली ननास्नु, कसैसँग केही लिएको छ भने तिर्नु जस्ता निम्नतम आधारभूत आदर्शमा रहेर कार्यहरु गरिन्थ्यो । सादा जीवन र उच्च विचारमा जीवनलाई ढालिन्थ्यो । अब अहिलेसम्म आइपुग्दा धेरै अनुशासन तथा नैतिकताका प्रश्नहरु आफैलाई तेर्साउन सकिने अवस्था देखिएको छ । निम्न पुँजिबादी चिन्तनले हामीलाई गाँजेको छ । पहिला सबैभन्दा पहिले कामको चिन्ता गरे पछि आनन्दको विचाार गर भनिन्थ्यो अहिले ठीक उल्टो जस्तो भएको छ । अहिलेको मूल समस्या भनेको व्यवहारको समस्या हो । नेतादेखि कार्यकर्तासम्म सबैमा विचार अनुरुपको व्यवहार नभएको आभाष चारैतिर हुन्छ । यो समस्याका नेपालका हरेक पार्टीको समस्या हो ।

प्रश्न ः मान्छे पनि बन्धनमा बाँधिन्छ र ? आज जे हामी भोग्दैछौं, मान्छेको चरित्र त यही त हो नि, हैन र ?

निर्मल कुइँकेल ः मान्छे यो सृष्टिको सबैभन्दा चेतनशील प्राणी हो । हामीले बाँच्नका लागि मात्र आनन्दका लागि मात्र आफूलाई परिभाषित गर्यौँ भने गल्ति हुन्छ । मान्छेले अरुका लागि बाँच्ने वा समाज परिवर्तनका लागि बाँच्ने कुरा सबैभन्दा ठूलो कुरा हो । मानिस भोगविलासको मात्र दाश हुनु हुँदैन । अरुका लागि बाँच्नु वा अरुलाई गर्नुलाई बन्धन मानिनु हुँदैन ।

प्रश्न ः आज आएर राजनीतिलाई हेर्दा कसैले यसलाई पेशा बनाइरहेका हुन्छन्, कसैले भावी सन्ततिका लागि विरासत बनाइरहेका हुन्छन्, सबैले आआफ्नो किसिमले उपभोग गरिरहेका हुन्छन् । खोइ कहाँ छ त यहाँले भने जस्तो चेतनशील मानिसको स्वभाव हामीसँग ?

निर्मल कुइँकेल ः हेर्दा त्यस्तो देखिन्छ र धेरै हदमा यस्तो भैरहेको पनि हो । अहिले मुलुकको राजनीति विग्रिएको पनि यसै भएर हो । पाटीैगत स्वार्थ, गुटगत स्वार्थ तथा पारिवारिक स्वार्थबीचको राजनीतिक भागवण्डाले देशको राजनीतिलाई आजको अवस्थामा पुर्याएको हो । हामीले जुन विचार बोकेका छौं त्यो बिचार सही भएर मात्र नहुने रहेछ । त्यो विचार अनुरुपको व्यवहार हामीले जीवन पद्धति बनाउनु पर्ने रहेछ । त्यसकारण विचार सही त हुनै पर्यो त्योसँगै व्यवहार सही भएपछि मात्रै हामीले हाम्रो चेतनाको सही उपयोग गरेको मानिन्छ ।

प्रश्न ः व्यवहार र सिद्धान्तको यो द्वन्द्वमा आफूलाई कहाँ उभ्याउनु हुन्छ ?

निर्मल कुइँकेल ः आफ्नो बारेमा आफैले बोल्दा मनासिब नभए पनि म आफू हृदयदेखि विचार तथा सिद्धान्तलाई व्यवहारमा उतार्नृ पर्छ भन्ने सोचाई राख्दछु । तर ममा पनि कमिकमजोरी अवश्य होलान् । यही समाज र सामाजिक परिवेश भएकाले यो समाजको राम्रा नराम्रा हेरेर अंगहरु मसँग पनि छन् । मैले व्यक्तिगतरुपमा आजका दिनसम्म कुनै पनि नेतालाई मलाई यो चाहियो वा मेरो फलानोलाई यस्तो बनाइदिनु पर्यो भन्न गएको छैन । मेरो राजनीतिक जीवनमा यो अवस्था सँधै रहिरहोस् जस्तो लाग्छ । अहिले म काठमाडौंको अध्यक्ष छु । यो अध्यक्ष बन्नको लागि मैले कुनै पनि समय आफ्नो आर्दश र मान्यतालाई तिलाञ्जली दिएको छैन ।

प्रश्न ः आजभोलीको नेपालमा पार्टीकोभन्दा पनि पार्टीमा रहेको गुटको राजनीतिका कारण को कहाँ पुग्ने निर्धारण हुने गर्छ । यहाँलाई पनि ओली गुटको भन्ने गरिन्छ । अध्यक्ष बन्न वा राजनीतिलाई उचाइमा पुर्याउन अब गुटको पछि नलागि नहुने भएकै हो त ?

निर्मल कुइँकेल ः हामी जबज(जनताको बहुदलीय जनवाद) प्रशिक्षित मानिसहरु हौं । यो अहिलेको युगको सबैभन्दा वैज्ञानिक कम्युनिस्ट विचार हो । यो वहुलवादी समाजमा हरेक कुरामा फरकपना छ । प्रकृतिमा पनि फरक कुराहरु छन् । यो सबै फरक फरक कुराहरुका बीचबाट प्रतिश्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरा हो । त्यसैगरी पार्टीभित्र प्रतिश्पर्धा गर्ने र त्यही प्रतिश्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुराको वकालत गर्छ जनताको बहुदलीय जनवादले । एकपटक मदन भण्डारीले भन्नु भएको मलाई याद छ, पार्टीभित्र अन्तर्विरोध जन्मदैमा पार्टी विग्रिहाल्यो भनेर सोच्नु हुन्न । त्यसकारण पार्टीभित्र आउने सबै समस्यालाई अन्र्तर्बिरोधलाई हल गर्ने कम्युनिस्ट पार्टीको आफ्नै विधि हुन्छ । अबको समाजमा आज ठीक भएको कुरो भोली बेठीक हुन सक्छ, अत्यन्त परिवर्तनशील छ समाज हामी पनि त्यही अनुरुप परिवर्तित हुँदै जान सक्नुपर्छ । पार्टीभित्र आएका विचारलाई समाधान दिन सकिएन भने गुटहरु जन्मिन्छन् । यही क्रमा जबजलाई व्याख्या गर्ने सबालमा होस् वा त्यसलाई व्यवहारमा लागु गर्ने सबालमा होस् मदन भण्डारीपछि जबजलाई अगाडि बढाउने व्यक्तिहरुमा केपि ओलीको अलि बढि तिक्ष्णता देख्छु म । त्यही भएर पार्टीको विचारको विषयमा केपि ओलीको प्रशंसा गरिएको हुनसक्छ । त्यसो भन्दैमा केपि ओलीकै गुटको भनिहाल्न चाहिँ अलि मिल्दैन । सबै नेताहरु आदरणीय हुनुहुन्छ । पार्टीको सबैभन्दा ठूलो गहना भनेको कार्यकर्ता हो । कार्यकर्तालाई पर्ने पीरमर्काको विषयमा पनि केपि ओली बढि चनाखो हुनुहुन्छ । त्यसको प्रशंसा गरेको मात्र हो ।

प्रश्न ः यतिखेर काठमाडौं जिल्लाको एमालेको संगठन कस्तो छ ?

निर्मल कुइँकेल ः काठमाडौं जिल्लामा एमाले कार्यकर्ताहरु अरु पार्टीको तुलनामा धेरै र खट्ने क्षमता भएका छन् त्यस्ता कार्यकर्ताको अझै क्षमता विकासमा हामी तल्लिन छौं । समाजमा बदनाम पात्रहरुलाई सकभर हामीले भित्र्याएका छैनौं । विकास निर्माणमा नेतृत्व गर्ने अधिकांश अनुहार एमाले नै भेटिन्छन् । र पनि समस्याहरु छन् । मुख्य समस्या भनेको पहिलाजस्तो मसिनो ढंगले जनआधारित कार्यकर्ता पंक्ति निर्माण गर्नेभन्दा सतहि तरिकाले मुल्यांकन गरिने र हिजोकै तथ्यांकले विश्लेषण गरिने प्रकृयाले कहिँ कतै व्यवस्थापकीय स्वरुपमा परिवर्तनको आवश्यक्ता देखिएको छ । माओवादीले कम्युनिस्ट पार्टीका नाममा देखाएको जालझेलले हामीलाई अल्झाएको छ । अहिले मेरो काम भनेको यी तमाम समस्याबाट एमाले काठमाडौंलाई माथि उठाउने हो । क्रान्तिकारीपन भुत्ते भएको ठम्याइ पनि भएको हुँदा अब क्रान्तिकारी पार्टी निर्माणमा पनि अग्रसर छौ । संबिधानसभामा पाइएको पराजयको इतिहासलाई सच्याउन एमाले काठमाडौं पूर्ण क्षमतावान भएर अगाडि बढ्दैछ ।

प्रश्न ः एकातिर खनालपक्षीय कार्यकर्ता समेट्न नसकेको आरोप पनि छ यहाँलाई र काठमाडौंबाट राजेन्द्र श्रेष्ठहरुजस्ता चिनिएका एमाले नेता अर्काे पार्टी बनाउन अग्रसर भइरहँदा कसरी संगठन दह्रो नै छ भन्न सकिएला र ?

निर्मल कुइँकेल ः कुनै पक्षको कार्यकर्ता नसमेटेको भन्ने कुरै होइन । काठमाडौंमा कुनै गुट नै छैन । एमाले मात्र छ । अब राजनीतिमा बिचार मिलेन भने अलग हुने कुरालाई राम्रो कुरा मान्ने व्यक्ति हुँ । एमालेबाट जान खोज्नेहरुलाई त्यो स्वतन्त्रता छ । एमालेको विचार मन नपर्याएर पनि पार्टीभित्र बस्नु झन् ठूलो हानिकारक हुन सक्छ । तर यो २१ औं शताब्दीको विश्वमा जातीय कुरा उठाएर अलग हुने उहाँहरुको मनस्थिति उहाँहरु आफैलाई भने झन् ठूलो हानिकारक हुनेछ । उहाँहरुको यो जातीय राज्यको कुरालाई आम देशवासीसहित एमाले कार्यकर्ताले रिजेक्ट पनि गरिसकेका छन् । यसले एमालेको संगठनमा एकरत्ति पनि समस्या आउँदैन । हामीले एमालेले उठाएको सात बहुजातीय प्रदेशमा नै आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित बनाएका छौं । मेरो जिल्ला कमिटिमा उपाध्यक्ष राई हुनुहुन्छ । सचिव नेवार हुनुुहुन्छ । हामीलाई कुनै जातको परिधिले बाँध्दैन । जातीय कुराले विग्रह मात्र ल्याउँछ ।

प्रश्न ः क्षेत्र नं. ४ मा तपाईलाई हेर्ने दृष्टिकोण अत्यन्त सकारात्मक रहेको छ, भावी एमाले उम्मेदवार तथा सांसदको रुपमा पनि चिनाइन थालिएको छ । अबको राजनीति सांसद हुनेतिर जान्छ कि पार्टीमा केन्द्रतिर जाने सोचिरहनु भएको छ ?

निर्मल कुइँकेल ः पार्टीमा काम गर्दा पार्टी स्वयम् वा कार्यकर्ता पंक्तिले मेरा नाममा दिने जिम्मेवारीका लागि म सँधै तयार नै छु तर मलाई यो पद चाहियो वा म पदमा उठ्छु भन्ने स्वभाव चाहिँ मेरो हैन । तर दुईमध्ये एक अप्सन छान्नु पर्दाचाहिँ मेरो उद्धेष्य पार्टीको नेतृत्वमा जाने भन्ने नै हो । आकांक्षा राख्नुपर्छ तर महत्वाकांक्षी हुनु हुँदैन भन्ने विचार राख्दछु । संगठनमा लामो काम गरेकोले संगठनप्रतिको मोह ज्यादा छ । निर्वाचनको हकमा पार्टीले जिम्मेवारी दियो भने क्षेत्र नं. ४ मा मात्र हैन जुनसुकै क्षेत्रमा पनि जानु पर्छ । यद्यपि क्षेत्र नं. ४ मेरो आफ्नो घर भएको क्षेत्र भएको नाताले यहाँका जनताले मलाई देखाएको सद्भाव र मायाप्रति सँधै आभारी छु ।

प्रश्न ः काठमाडौं क्षेत्र नंं ४ बाट एनेकपा माओवादीबाट नन्दकिशोर पुन पासाङ, नेका बाट गगन थापा र एमालेबाट तपाईंको नाम आगामी निर्वाचनलाई भनेर उम्मेदवारको हल्ला गरिन थालिएको छ, यहाँलाई कस्तो लाग्छ यो प्रशंग ?
निर्मल कुइँकेल ः पार्टी राजनीतिमा व्यक्ति गौण कुरो हुने गर्दछ । पार्टी र पार्टीले उठाएको विषय वा सिद्धान्त नै महत्वको विषय हुन आउँछ । संगठन राम्रो छैन भने जतिसुकै राम्रो व्यक्ति उठाए पनि चुनाव जित्न सक्दैन । र पनि अबका चुनावमा राम्रा छवि तथा क्रियाशील एवम् स्थानीय व्यक्तिलाई चुनावमा उठाउने अबस्था बनाइएको छ । हामीले यसबारे नेतृत्वलाई पनि भनिसकेका छौं । अब काठमाडौंमा पसिना बगाएको व्यक्ति नै उम्मेदवार हुनेछ यसमा म पर्न पनि सक्छु तर जनतासँग भिजेको कार्यकर्ताले साथ दिने व्यक्ति काठमाडौंमा उठ्नेछ । ती उर्जाशील व्यक्तिहरुको कोटीमा पार्टीले मलाई पारेछ म जो कोही प्रतिपक्षसँग चुनावमा भिड्न तयार छु ।

प्रश्न ः बुटवल अधिवेशनसम्म आइपुग्दा अब एमालेलाई पूर्ण कम्युनिस्ट पार्टी भन्न सकिन्छ ?

निर्मल कुइँकेल ः माक्र्सवाद एउटा दर्शन हो विज्ञान हो । माक्र्सवादले यो संसार जस्तो छ त्यस्तो देखाउँछ । माक्र्सवादले समाज बदल्न सिकाउँछ । र समाज बदल्दा माक्र्सवाद त्यस्तो चिज हो जसलाई आफ्नो देशको भावना अनुसार चलाउन सकिन्छ । रुसको जस्तै माक्र्सवादको प्रयोग अब नेपालमा गर्न पर्दैन । हामीले हामी जस्तै व्याख्या गर्न सक्छौं, त्यसैकै विकसित रुप हो जबज । अहिले माओवादी जो महान भनिने जनयुद्धबाट विस्तारै जबजको स्वरुपमा आउँदैछन् । त्यसैले हामी कम्युनिस्ट पार्टी नै हौं । हामीले हाम्रो माटो अनुरुपको माक्र्सवादको सृजनात्मक प्रयोग गरेका छौं । अबको विश्व हाँक्ने कम्युनिस्ट सिद्धान्त भनेको माक्र्सवादको सृजनात्मक प्रयोग नै हो । हामी यो विचार लिएर जाँदा माक्र्सवादबाट विचलन हैन माक्र्सवादलाई सही ढंगले उपयोग गरेका छौं भनेर बुझिन पर्छ ।

– केशव पाठक, सागर बैजु,आशिष गुरागाइँ

तपाइँको प्रतिक्रिया ।