अन्तर्राष्ट्रिय चित्र कार्यशालामा सङ्गीतमय सांस्कृतिक प्रतियोगिता
घान्द्रुक (कास्की), २२ कात्तिक ।
अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा आइतबारदखि जारी कार्यशालामा आज सङ्गीतमय सांस्कृतिक चित्रकला प्रतिस्पर्धा भएको छ ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीका अध्यक्ष अर्टनर डोगानले कार्यक्रमको संयुक्त रुपमा गमलामा पानी हालेर उदघाटन गर्नुभयो । महाप्रबन्धक थापाले नेपाली कला तथा सङ्गीतलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सो कार्यक्रमले पर्यटन क्षेत्रको समेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका २५ तथा विदेशका ४० कलाकारले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । करिब तीन घन्टासम्म सञ्चालित उक्त कार्यक्रममा सांस्कृतिक संस्थानका वरिष्ठ कलाकारले नेपाली लोकधुनका साथै लोकप्रिय गीत समेत निरन्तर गाए । स्वदेशी तथा विदेशी कलाकारले नेपाली सङ्गीतमा आनन्द लिँदै समय समयमा चित्र बनाएकै स्थलमा जुरुक्क उठेर नाच्ने गरेको दृष्यले यहाँको वातावरण रमणीय भएको थियो ।
सो कार्यक्रम अवलोकनका लागि समाजसेवी उज्ज्वल गुरुड, स्थानीयवासी, कर्मचारी, आमा समूह लगायतको सहभागिता थियो । कार्यक्रममा सहभागी कलाकारले यहाँकोे स्थानीय वातावरणमा माछापुच्छे« र अन्नपूर्ण हिमालका साथै नेपाली संस्कृतिलाई आधार बनाएर स्थानीय जनजीवनका विभिन्न पक्ष झल्कने कला सिर्जना गरेका छन् ।अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुडले नेपाली कला तथा संस्कृतिलाई विदेशीलाई बुझाउने र स्वदेशको संस्कृतिर्लाइ विश्वमा परिचित गराउने उद्देश्यले सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको बताउनुभयो । सोसाइटी नेपालका महासचिव दीपेन्द्रमान बनेपालीले हिमालको काखमा रमणीय वातावरणमा नेपाली लोकगीत तथा सङ्गीतसँग चित्रकलाको अनौठो सङ्गमले सो कार्यक्रममा सहभगी कलाकारलाई उत्साह र उर्जा मिलेको विचार व्यक्त गर्नुभयो ।
नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, ललितकला पत्रकार मञ्चका अध्यक्ष केशवराज खनाल, कलाकार राजेश मानन्धर, कान्छाकाजी भासिमा, लेख मगर लगायतले जलरङका विश्वव्यापी कलाकारलाई सङ्गठित गर्न सो महोत्सव उपयोगी भएको बताउँदै यसले स्वदेशी तथा विदेशी कलाकारबीचमा सद्भाव कायम गरी कला सिर्जनाको अभ्यासलाई आदानप्रदान गर्न अवसर मिलेको बताउनुभयो ।
सो सङ्गठनले ८० देशमा सञ्जाल विस्तार गरेको बताइएको छ । यही कात्तिक १८ गत्देखि २५ गतेसम्म बबहरमहलस्थित नेपाल कला परिषद्मा जारी अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत सो कार्यक्रम भएको हो । आज भएको प्रतिस्पर्धाको परिणाम यही कात्तिक २४ गते हुने छ । प्रतिस्पर्धाबाट २० कलाकारलाई उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । महोत्सवमा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, थाइल्यान्ड, सिङ्गापुर, म्यान्मा, इन्डोनेसिया, मलेसिया, स्पेन, टर्की, फिनल्यान्ड, ग्रीस, चेक रिपब्लिक, बल्गेरिया, बेलारुस, अस्ट्रेलिया लगायत ३९ देशका १५६ कलाकारका चित्र समावेश गरिएका छन् । रासस