‘छठ पूजा मधेस–पहाडबीच सद्भाव जोड्ने पुल’
कपन अनलाइन, महोत्तरी,२२ कात्तिक ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेलले छठ पूजा मधेस–पहाडको सामाजिक सद्भाव जोड्ने गतिलो पुल भएको बताउनुभएको छ ।
आज बिहान महोत्तरीको बर्दिवासस्थित छठ पर्वको समापनका अवसरमा फूलप्रसाद ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरन्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध र एकता कायम गर्ने शक्ति प्रदान गर्दछ भन्नुभयो ।
छठ पर्व राष्ट्रिय निर्माणको गतिलो साधन भएकाले यसको संरक्षण गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सूर्य मूल शक्ति हो । हामी त्यसैको वरिपरि घुमिरहेका छौं,’ नेता पोखरेले भन्नुभयो,“प्रकृतिले मानवको निर्माण गरेको हो भने मानवले ईश्वरको निर्माण गरेको हो ।”
चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको समेत नेता पोखरेलको भनाइ थियो । रासस