उन्नाइस करोडको लागतमा ‘बौद्धनाथ चैत्य’ जीर्णोद्धार

उन्नाइस करोडको लागतमा ‘बौद्धनाथ चैत्य’ जीर्णोद्धार

कपन अनलाइन ,काठमाडौँ, २ कात्तिक ।

बौद्धनाथ क्षेत्र विकास समितिले करिब रु १९ करोडको लागतमा ‘बौद्धनाथ चैत्य’को जीर्णोद्धार सम्पन्न गरेको छ । जीर्णोद्धारका क्रममा गत वर्ष भूकम्पबाट क्षतिग्रस्त चैत्यका विभिन्न भागको जीर्णोद्धार तथा त्रयोदश भुवन( गुम्बादेखि माथि राखिने १३ खण्ड)को पुनःनिर्माण गरिएको छ । चैत्य परिसरमा रहेको माने तथा त्यस वरपरका पर्खाल समेत मर्मत गरिएको छ ।

boudha
बौद्ध विद्वान् टीका शेर्पाका अनुसार ती सबै खण्ड पार गरिसकेपछि मात्र बोधिसत्व प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । भूकम्प तथा परकम्पका कारण सो चैत्य चर्किएको र जोखिम देखिएका कारण पुनःनिर्माण गरिएको हो ।

समितिले गत वर्ष जेठ १० गतेदेखि जीर्णोद्धार प्रारम्भ गरेको थियो । समितिले आन्तरिक स्रोत व्यवस्थापनका साथै स्वदेशी तथा विदेशी दातृ सङ्घसंस्था र धर्मावलम्बीको सहयोगमा रकम सङ्कलन गरी मर्मत सम्पन्न गरेको हो । समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले चैत्यको माथि सजाइने पताकामा सुनको मोलम्बा लगाइएको जानकारी दिँदै स्तूपको मण्डलमा रहेका पर्खालमा वज्र सिमेन्टले प्लास्टर गरिएको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।