बल्झिँदैछन् द्वन्द्वका घाउ

कपनअनलाइन/काठमाडौँ, २ असार ।
 उजुरी दिने समय सकिन लाग्दा द्वन्द्वकालका घटना अनुसन्धान गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बुधबार द्वन्द्वपीडितको लर्को लाग्यो। आफन्त गुमाएपछि मनमा गढेर बसेका पीडा पानामा पोख्दै गर्दा उनीहरुका अनुहारमा एकतमासको नैराश्यता देखिन्थ्यो।
 Untitled-1
ओखलढुंगाका फणिन्द्र र सन्तोष लुइँटेलले बाबुका हत्यारालाई कारबाही हुने आशासहित बुधबार आयोग केन्द्रीय कार्यालयमा उजुरी दिए। द्वन्द्वक्रममा माओवादीद्वारा अपहरण गरी रुखमा झुन्ड्याएर मारिएका बाबु गुरुप्रसादको हत्यासम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न उनीहरुले माग गरेका छन्।

‘के के भयो त्यो बेला, हाम्रो बुवालाई कसरी मारियो, त्यो जान्न चाहन्छौं,’ छोरा फणिन्द्रले भने, ‘त्यसमा संलग्नलाई कारबाही भएको पनि हेर्न चाहन्छौं।’ उजुरीमा उनीहरूले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वी कमान्ड प्रमुख रामबहादुर थापा, सदस्य पेसल खतिवडा, तत्कालीन जिल्ला जनसरकार प्रमुख केशव राईसहित १५ जना हत्यामा संलग्न रहेको जनाएका छन्।

२०६० साल भदौ २२ गते बिहानै घोराखोरीस्थित ज्ञानप्रकाश मावि हिँडेका शिक्षक लुइँटेल घर पुग्न पाएनन्। स्कुल सकेर फर्कंदै गर्दा अचानक आठ–दसजनाको घेराउमा परे। एकजनाले हात बाँधिदियो, अर्काेले आँखामा पट्टी कस्यो र टाउकामा बन्दुकको नाल तेर्साउँदै लिएर गए।

‘बुबा बेपत्ता भएपछि हामी निकै आत्तियौं प्रहरी–प्रशासनमा पनि भन्यौ तर फेला पारेनौं,’ फणिन्द्रले सुनाए। त्यसको १७ दिनपछि ओखलढुंगाकै वरुणेश्वरमा बरको रुखमा झुन्डिएको अवस्थामा शव फेला पार्यौं । ‘लामो समय यातना दिएर मारेछन्,’ उनले भने, ‘त्यो दिन सम्झँदा पनि पीडाले मन कहालिन्छ।’

द्वन्द्वको समय घटनाको छानबिन र कारबाही प्रक्रिया नै अगाडि बढेन। जिल्ला अदालतमा २०६८ सालमा पीडितको तर्फबाट मुद्दा पर्योो तर ज–जसको नाममा किटानी जाहेरी परेको थियो, उनीहरू त्यो मुद्दा खारेज गराउन माग गर्दै सर्वोच्चमा गए। सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दा अदालतमा चल्न सक्छ भनेर दुई महिनाअघि आदेश दियो तर सम्बन्धितलाई पक्राउ गरी कारबाहीको प्रक्रिया भने अगाडि बढेको छैन।

छोरा सन्तोषका अनुसार एमालेनिकट शिक्षक संगठनमा रहेर सामाजिक सेवामा सक्रिय रहेका लुइँटेललाई पटक–पटक माओवादीमा सामेल हुन दबाब आएको थियो। अपहरणपछि पनि उनलाई निकै यातनासहित पार्टीमा आउन भनेका थिए। ‘मागेको चन्दा दिए पनि पार्टीमा आउन नमानेपछि उहाँको हत्या भएको हो,’ उनले भने, ‘राजनीतिक प्रतिशोधकै कारण मारे।’

गाउँका भद्रभलाद्मीहरुले धमाधम गाउँ छाडिसक्दा पनि लुइँटेल भने पढाएर गाउँमै बसेका थिए। उनको परिवारलाई विस्थापित गराउन माओवादीले निकै कसरत गरे तर सकेका थिएनन्।

ओखलढुंगाकै दीपक राईकी कलिली छोरीको निर्मम हत्या तत्कालीन सेनाले गर्योउ। ‘काठमाडौं सुकेधाराको साइप्रस बोर्डिङमा ९ कक्षामा पढ्थी,’ उनले सुनाए, ‘दसैं मनाउन घर फर्किंदै थिई, बाटैमा मारिदिए।’

२०६१ साल असोज १० गते स्कुलमा दसैंछुट्टी भएपछि घर फर्कंदै गरेका प्रगति राईसहित तीनजनालाई मोली गाविस नछिचोल्दै सेनाले गोली ठोक्यो। माओवादीमा लागेको भनेर उनीसँगै शोभा पाठक र अर्की एक किशोरी पनि मारिइन्।

‘सेनाले लास पुरपार पारेर गए,’ राई पिरलो पोख्छन्, ‘कसले बोल्ने, कसका विरुद्ध बोल्ने? जसका विरुद्ध बोले पनि मारिने नै थियौं,’ उनले आयोगको उजुरीमा आजसम्म नखोलेको मनको वह पोखे, ‘म त यस्तो उजुरी दिने ठाउँमा पहिलोपटक आएको, छोरी फर्कने हैन, गाउँमा अझै रिसराग उस्तै छ, कता दिनु उजुरी?’ आयोगमा अन्यायपूर्ण तरिकाले छोरी मारिएकी छ, छानबिन होस भनेर उजुरी हालेको उनले बताए। ‘हिँड्दाहिँड्दै निर्दोष मारिनु त भएन नि, किन मार्योा भन्नुपर्योो,’ उनी उकुसमुुकुस भएर गुम्सिएका पीडा ओठ र आँखा दुवैबाट पोख्छन्, ‘द्वन्द्वका बेला पक्ष–विपक्ष लड्ने आफ्नो ठाउँमा छ तर बिनाहतियार निहत्था मान्छेलाई माओवादी भनेर ड्याम–ड्याम गोली हानेर किन मार्ने? त्यसको जवाफ चाहियो?’

आयोगले मेलमिलाप भन्यो भने उनको सिधा जवाफ छ, ‘हाम्रो घाउ पनि त मेटिनुपफ्यो, मेरी छोरी फर्काउँछ उसले? छातीमा यो चोट कसरी मेटाउने त्यो सरकारले बु‰नुपर्छ।’ मान्छे मार्नेलाई कारबाही हुनैपर्ने उनको अडान छ।

बुधबार नै उनका छोरीसँगै मारिएका अन्य किशोरीका आफन्तले पनि आयोगमा उजुरी दर्ता गराए।

सिन्धुपाल्चोक, भोटेचौरका शरणसिंह तामाङले तीनछोरा द्वन्द्वका बेला गुमाए। २०५८ सालमा जेठी छोरी तीर्थीमाया तामाङलाई माओवादी भन्दै सेनाले मारे। त्यसपछि उनका छोरा चतुरमान र पतनसिंह तामाङलाई माओवादी बनाउन घरबाटै लिएर गए। निर्दोष दिदी मारेको झोंकमा माओवादी बनेका दुई दाजुभाइलाई तत्कालीन सेनाले पालैपालो गोली ठोकेर मारे।

‘सेनाले उधुम मच्चाएपछि गाउँका सबै युवा बाध्यताले पनि माओवादी बने,’ शरणसिंह भन्छन्, ‘नेताहरूले पनि खै के–के सपना देखाए, ज्यानै लिए।’

त्यत्रो घटनापछि पनि माओवादीमा लागेकाले चैन नपाएको उनी बताउँछन्। ‘नेताहरूले कुर्सी पाए हामीले न्यायसम्म पनि पाएनौं,’ बिलौना गर्छन्, ‘नेता धनी भए, हामी गरिबको गरिब भयौं।’

उनी त्यही न्याय खोज्न कतै नभनेका पीडा उजुरीमा पोखेको उल्लेख गर्छन्। ‘न्यायनिसाफ त ढिलै भए पनि गर्नैपर्छ,’ उनी आक्रोश पोख्छन्, ‘माफी दिएर केही हुन्न।’

यस्तै यस्तै नखुलेका पीडा पोख्नेहरू बुधबार २ हजार ८ सय ४८ थिए। बुधबारसम्म ३३ हजार ५ सय ९२ जनाको उजुरी परेको छ। बिहीबार उजुरीको अन्तिम दिन हो।

नागरिक न्युज बाट साभार गरिएको 

तपाइँको प्रतिक्रिया ।