मिथिला क्षेत्रका विभूति ‘दिनाभद्री’को लोकगाथा लोप हुँदै

मिथिला क्षेत्रका विभूति ‘दिनाभद्री’को लोकगाथा लोप हुँदै

ramjanaki-e1450353553696

कपन अनलाइन, लहान, १७ जेठ, २०७३

-राजु विश्वकर्मा 

संरक्षणको अभावमा मिथिला क्षेत्रको विभूति लोकनायक दिनाभद्रीको लोकगाथा लोप हुन थालेको छ । सरकारी उदासीनता र उपेक्षाका कारण मिथिला क्षेत्रको धरोहर दिनाभद्रीको लोकगाथा लोप हुन लागेको भन्दै मैथिलीकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । मिथिला क्षेत्रमा दिनाभद्री मुसहर दाजुभाइको लोकगाथा जनजनमा अति चर्चित रहे पनि आवश्यक संरक्षणको अभावमा इतिहास मर्न लागेको उनीहरुको गुनासो छ ।

शोषक सामन्तविरुद्ध कठोर सङ्घर्ष गरेका मुसहर समुदायका दाजुभाइ दिनाभद्रीको लोकगाथा गायन लोप हुन थालेको व्यापक गुनासोपछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान काठमाडौँले अध्ययन, अनुसन्धान एवम् अभिलेखीकरण कार्य सुरु गरेको छ । दिनाभद्रीको जन्म, मृत्यु संस्कार एवम् विभिन्न घटनासँग सम्बन्धित स्थलहरुको विषयमा अध्ययन अनुसन्धान एवम् अभिलेखीकरण कार्यलाई अगाडि बढाइएको हो ।

प्रतिष्ठानका प्राज्ञद्वय रमेश रञ्जन, खेम नेपाली र अन्य प्रविधिज्ञसहितको टोलीले दिनाभद्री जन्मेको, कुस्ती खेलेको र मृत्यु भएकोलगायतका विभिन्नस्थलको छायाङ्कन गरेका छन् । सप्तरी जिल्लाको जोगिया जाँजर गाउँका कालु सदा र आमा नीरसोको कोखबाट जन्मिएका दुई दाजुभाइ दिना र भद्री अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सङ्घर्ष गरेकै कारण मिथिला क्षेत्रका हरेक समुदायका बीच देवता सरह पूजित छन् । नेपालको पूर्वाञ्चलको सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापासहितका जिल्लाको विभिन्न गाउँमा मुसहर जातिको बसोबास रहेको छ ।

ओझेलमा पर्दै आएका दिनाभद्रीसँग सम्बन्धितस्थलको छायाङ्कनकार्य जारी रहेको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जनले जानकारी दिनुभयो । दिनाभद्रीको जन्मस्थान जोगियाँ जाँजरमा उनीहरु कुस्ती भिडेको स्थान ९अखडा० अझै रहेका छन् भने उनीहरु मारिएको स्थान कटैयाँमा दिनाभद्रीको मन्दिर बनाएर पूजाआजा गरिँदै आइएको छ । त्यस तीर्थस्थलको समेत छायाङ्कन गरिने प्राज्ञ रञ्जनले बताउनुभयो ।

दिनाभद्रीसँग सम्बन्धित लोकगाथा ९महराई०को छायाङ्कन भइसकेको भइसकेको छ । प्राज्ञ रञ्जनले भन्नुभयोे – “लोकगाथा गायक सातैन रामको गायनको पनि छायाङ्कन सम्पन्न भइसकेको छ । बाँकी कार्यहरु हुँदैछन् ।” दिनाभद्रीको विषयमा लोकगाथा गायन लोप हुँदै गएकाले उनीहरुसँग सम्बन्धित स्रोत एवम् सन्दर्भ सामग्रीहरुको सङ्कलन भइरहेको र लोकगाथामै आधारित भएर उनीहरुबारेको पुस्तक प्रकाशन गर्ने प्रतिष्ठानको योजना रहेको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानले ‘मिथिला लोक विभूति दिनाभद्री गाथा’को सन्दर्भमा मिथिला क्षेत्रका विद्वान्हरुको बीचमा अन्तक्र्रियासमेत गरेको छ ।

बाल्यकालदेखि नै दुवै दाजुभाइ वीर एवम् साहसी थिए । कुस्ती खेल्न सिपालु हुनाका साथै सामाजिक न्यायका सच्चा पहरेदारका रुपमा प्रस्तुत भएका कारण उनीहरुको वीरताको चर्चा त्यतिबेला जनजनमा चलेको इतिहासविद् डा पिताम्बरलाल यादवले बताउनुभयो । उहाँले भन्नुभयो – “लोकगाथामा उल्लेख भएअनुसार दाजु दिना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे । दुवै दाजुभाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहत ९मालिक०को ‘जी हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नका लागि मुसहर समुदायलाई प्रेरित गर्ने कामसमेत गर्ने गरेका थिए ।”

मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने प्रवृत्तिविरुद्ध जाइ लाग्ने गरेका कारण उत्पीडित समुदायहरु जागरुक हुँदै अन्याय, अत्याचारका विरुद्ध जुटेको इतिहासविद् डा यादवको भनाइ छ । दिना र भद्रीको विवाह सप्तरीको बरहा गाउँका फुकन सदाकी छोरीहरु हंसा र संझासँग भएको थियो । दाजुभाइ मारिएको ठाउँलाई मरौटी, मारिएपछि उठाएर राखिएको ठाउँलाई रखौटी र हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको ठाउँलाई जरौटी भन्ने गरिन्छ । कहीँ कतै अन्याय अत्याचार भएपछि अहिले पनि दिनाभद्री दाजुभाइलाई सम्झिने गरिन्छ ।

दिनाभद्रीको जन्मको विषयमा कतै ठोस किटान भएको पाइँदैन । यद्यपि उनीहरु राजा सलहेशका समकालीन हुन् भन्ने अनुमान गरिन्छ । भिन्न ऐतिहासिक तथ्य एवम् लोकगाथामा उल्लेख भएका विषयवस्तु, घटना, परिवेश तथा उल्लिखित गतिविधिका आधारमा दुवै दाजुभाइ मध्यकालका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

शोषण, दमन, अन्याय अत्याचारविरुद्ध चालेका साहसिक कदम तथा क्रियाकलापका कारण आज पनि दिनाभद्री मधेसमा देवताका रुपमा पूजित छन् । सप्तरी सिरहालगायतका मधेसका जिल्लामा देवीदेवताको पूजा गर्ने बेलामा दिनाभद्रीको पूजा अनिवार्य हुने गरेको मैथिली साहित्य परिषद्का सचिव तथा पत्रकार श्यामसुन्दर यादवले बताउनुभयो । दिनाभद्रीको मृत्युको विषयमा दुई मत रहेको पाइन्छ । पहिलो मतअनुसार बुधनी धमियाइनले यिनीहरुलाई जादु टुना गरी सप्तरीको कटैया जङ्गलमा मार्न लगाइन् । तब यिनीहरुका आमा निरसोले बघेश्वरी भगवतीलाई पूजा गरी खुसी पारेर धमियाइनलाई पनि मार्न लगाइन् । मुसहरहरुले अहिले पनि गीत गाएर उक्त घटना सम्झिने गरेको पत्रकार यादवको कथन छ ।

दिनाभद्री आफ्नो मामा बहोरनलाई साथमा लिएर सिकार खेल्नका लागि कटैया जङ्गलतिर गए । वनभित्र पुगेपछि एउटा पोटरा ९खास प्रकारको बँदेल० अगाडि आएको देखेपछि भदरीले धनुवाण चलाई त्यसलाई त्यही मारी दिए तर राजा सलहेसले पुनर्जीवन दिए । त्यही जीवित बंँदेलले दिनाभद्रीलाई घाइते पारी मारिदिएको अर्को मत छ । जोगिया जाँजरदेखि पूर्वतिरको गाउँ नेंंगरा बैरियाका जीवन सदाले दुवै मृतकको किरियाकर्म गरेको लोकगाथामा उल्लेख भएको बताउनुहुन्छ । शोषण दमन र अत्याचारविरुद्ध कठोर सङ्घर्ष गरेका दिनाभद्रीसँग सम्बन्धित स्थलको संरक्षण र संबद्र्धन गरिए अध्ययन–अनुसन्धानको थलो बन्न सक्ने निश्चित छ । तर सरकारीपक्षको अहिलेसम्म ध्यानाकर्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ । दिनाभद्रीको कठोर सङ्घर्षको सम्मान गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुका साथै हुलाक टिकट प्रकाशनमा ल्याउनु पर्ने बुद्धिजीवीहरुको माग छ । रासस

तपाइँको प्रतिक्रिया ।