म सँधै धनीभन्दा गरिब देखेर आकर्षित हुन्थे – राजनीति वार्ताः मिठाराम अधिकारीसँग

कपनको समाजिक तथा राजनीतिक जीवनमा देखिएक पुराना नयाँ सबै अनुहारहरुमध्ये मीठाराम अधिकारी सबैभन्दा चर्चित एवम् चिनिने अनुहार हो । विकासवादी नेताको रुपमा चिनिने मिठाराम अधिकारी आफूलाई नेताभन्दा समाजसेवी भनाउन रुचाउँछन् । विहान उठेदेखि बेलुकासम्म सामाजिक गतिबिधिमा नै सम्लग्न रहने र बोलाएको ठाउँमा पुग्ने मानिसको रुपमा पनि मिठाराम अधिकारीको चर्चा गरिन्छ ।
नेकपा एमालेको जिल्ला सदस्यको रुपमा राजनीतिक हैसियत राख्ने मिठाराम अधिकारीलाई नेकपा एमालेको तर्फबाट भावी निर्वाचनमा क्षेत्र नं. ४ को उम्मेदवारको रुपमा पनि यदकदा चर्चा गरेको पाइन्छ । उनी आफै भने राजनीति पदका लागि गरेको हैन यो मेरो समाजसेवा हो भन्छन् ।
कपनका यी ५१ वर्षीय चर्चित समाजसेवी तथा राजनीतिकर्मीको राजनीतिक जीवनका बारेमा कपन अनलाइनले केही कुरा गरेको छ ।
प्रश्नः आजका दिनसम्म आइपुग्दा यहाँलाई राजनीति के हो जस्तो लाग्यो ?
मिठाराम अधिकारीः राजनीति भनेको देशलाई चलाउने नीति हो तर नेपालमा त्यस्तो भैरहेको जस्तो लाग्दैन । ठेकेदारको पाराले देश चलिरहेको वर्तमान अवस्थामा राजनीति देश चलाउने नीति बन्न नसकेकोमा म चिन्तित छु ।
प्रश्नः काठमाण्डौको कपन भन्नाले काँठ भनेर बुझिने बेलामा यस क्षेत्रमा यहाँ कसरी कम्यूनिस्ट कार्यकर्ता बन्नु भयो ?
मिठाराम अधिकारीः म सँधै धनीभन्दा गरिब देखेर आकर्षित हुन्थे । म आफू पनि गरिब नै हँु । मेरो चेतनाले कम्यूनिस्ट नै बन् भन्यो ।
प्रश्नः राजनीतिक चेतना आउँदा कम्युनिस्ट बनिसक्नु भएको थिया ? कम्यूनिस्ट कार्यकर्ता कसरी बन्नु भयो ?
मिठाराम अधिकारीः ०३६ को चुनाव ताकाबाट राजनीतिमा चासो दिन थालियो । कम्यूनिस्टभन्दा पनि हामी न्यायप्रेमी र विकासप्रेमी थियौं त्यतिखेर । पञ्चायत व्यवस्था बिरोधी थियौं । पछि पद्मरत्न तुलाधर जनपक्षीय उम्मेदवार भएर उठेपछि हामी यस क्षेत्रका कार्यकर्ताको रुपमा अगाडि बढ्यौं ।
प्रश्नः हामी भन्नाले को को हुनुहुन्थो ?
मिठाराम अधिकारीः पद्मरत्न तुलाधरको चुनाव प्रचार प्रसारको कार्यालय भोटाहिटीमा थियो । त्यहाँबाट प्रचार सामग्री ल्याएर प्रचार प्रसार गर्न तयार भैरहँदा मलाई कपनमा चाहिँ म एक्लै हुँ कि जस्तो लाग्थ्यो तर वडा नं. १ का विष्णु र नवराज सापकोटा पनि यसैगरी लाग्दै हुनुहुँदो रहेछ । अनि परिचित भएर हामी संगठित भयौं । विस्तारै कम्युनिस्ट माहौल बनाउन थाल्यौं ।
प्रश्नः ०३६ सालतिर राजनीतितिर आकर्षित हुनु भयो । ०३६ देखि ०४६ सम्म कुनै राजनीतिक पार्टी पनि संलग्न हुनु भयो ?
मिठाराम अधिकारीः हामीले सदस्यताचाहिँ प्राप्त गरेका थिएनौं तर हामी तत्कालिन माले निकट नै थियौं । फेरि पार्टीमा देखिएर लाग्ने वातावरण पनि नभएकोले हामी निकट मात्र बन्न सक्यौं यो समयमा । गरिब जनताको मुक्तिका लागि भनेर कम्यूनिस्ट विचारधारामा आफूलाई समाहित गर्ने काम भयो त्यो समयामा ।
प्रश्नः एमाले नै चाहिँ किन हुनु भयो त ?
मिठाराम अधिकारीः एक त त्यतिखेर कम्युनिस्टहरुमा माले पछि एमाले भयो यो नै सबैभन्दा सक्रिय थियो । र व्यक्तिगतरुपमा चाहिँ म मदन भण्डारी र उनको बहुदलीय जनवादबाट अत्यन्त प्रभावित भएकोले म एमाले नै भएँ र छु ।
प्रश्नः आजका दिनसम्म आइपुग्दा अब एमाले कम्युनिस्ट पार्टी होइन कि जस्तो लाग्दैन ?
मिठाराम अधिकारीः कहिले काहिँ नेताहरुको कार्यशैलीलगायतले एमालेले धार बदल्यो कि भन्ने लाग्छ तर एमालेका कार्यकर्ता पंक्तिले एमालेलाई कम्युनिस्ट मै जीवित राख्न सफल छन् र हुनेछन् ।
प्रश्नः यहाँलाई आजका दिनमा एमाले माओवादी वा कांग्रेस कस्को निकट होस् भन्ने जस्तो लाग्छ ?
मिठाराम अधिकारीः माओवादीहरुका अराजक गतिविधिका कारण एमाले माओवादीभन्दा कांग्रेस नै निकट भएको ठीक होला जस्तो लाग्छ ।

तपाइँको प्रतिक्रिया ।