देउवासँग सुजाता आगो भइन्

कांग्रेस नेतृ सुजाता कोइराला ले वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालालाई सार्वजनिक कार्यक्रममा गाली गरेकोमा रोष प्रकट गरेकी छन् । उनले आफ्नै सभापतिलाई गाली गर्दै हिड्नु पार्टी नीति विपरीत भएको टिप्पणी गरिन् ।

प्रेस युनियन रुपन्देहीले आइतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले ४/४ पटक देशको प्रधानमन्त्री बनेका र पार्टीमा वरिष्ठता हासिल गरेका व्यक्तिले संगठनभित्र चुप लागेर बाहिर गएर गाली बेइज्यती गर्नुको कुनै अर्थ नरहेकोसमेत बताइन् । पार्टीबाहिर गाली गरेको विषयलाई आफूले केन्द्रीय कार्यालयमा उठाएर वरिष्ठ नेताले गरेको कनिष्ठ कामको सोधपुछ गर्ने र सत्यतथ्य पत्ता लगाउने उनले बताइन् ।

संविधान जारी नगरी मुलुकले निकास नपाउने भन्दै नेतृ कोइरालाले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने र केही समयका लागि संविधान सभाको पुनर्स्थापना गरेर संविधान जारी गर्नु अहिलेको उत्तम उपाय भएको बताइन् । पछिल्लो पटक दलहरुबीच भएको सहमतिको प्रयास सकरात्मक बताउँदै उनले यसलाई पूरा गर्न आफूहरु लागिपर्ने बताइन् ।

 

 

तपाइँको प्रतिक्रिया ।