कोइराला र केसी महामन्त्रिमा उठ्ने, गगन थापाको दावी अन्यौलमा

कोइराला र केसी महामन्त्रिमा उठ्ने, गगन थापाको दावी अन्यौलमा

Desktop12

कपन अनलाइन/फागुन १३, २०७२
सामाजिक संजाल र अनलाइन पत्रिकामा जताततै महामन्त्रि पदका दावेदार भनेर छाएका युवा नेता गगन थापालाई धक्का लागेको छ । नेपाली कांग्रेस संस्थापन पक्षले आधिकारिकरुपमा सशांक कोइरालालाई महामन्त्रि पदमा उठाउने तयारी साथै देउवा पक्षले अर्जुन नरसिंह केसीलाई महामन्त्रिमा लडाउने करिब पक्का भएपश्चात युवा नेताको दावी अन्यौलमा परेको हो । संस्थापन पक्षका नेता कृष्ण सिटौला सभापति र गगन थापा महामन्त्रिमा उठ्ने हल्ला चलिरहेको बेला आज संस्थापन पक्षीय नेता रामशरण महत निवासमा भएको भेलाले औपचारिकरुपमा रामचन्द्र पौडेललाई सभापति र सशांक कोइरालालाई महामन्त्रिमा उठाउने तयारी गरेको हो । आजको यो भेलापश्चात प्रभावशाली नेता कृष्ण सिटौलाले कुनै प्रतिक्रिया नदिनुले सिटौला उपसभापति सुनिश्चित हुने देखिए सभापतिको दावी छाड्ने मनस्थितिमा पुगेको बुझिएको छ । त्यसैगरी आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई देउवा पक्षले महामन्त्रि पदमा उठाउने निश्चित प्रायः गरेपछि गगन थापामाथि महामन्त्रिको दावीबाट पछाडि हट्न दबाब परेको बताइएको छ ।

नेपाली कांग्रेसको तेस्रो पुस्तामा अत्यन्त प्रभावशाली व्यक्तिको रुपमा लिइने गगन थापा अझै पार्टीको दोस्रो पुस्तालाई पदाधिकारी बनाएर युवा पुस्ताहरु चुपचाप बस्न बाध्य बन्न पर्ने अवस्थाको चेपुवा परेका छन् । कोइराला र केसीको उम्मेदवारी पक्का हुने बित्तिकै उनले उम्मेदवारी दिए पनि स्वतन्त्र हैसियतको हुने भएकोले यो हारिने खालको बाजी हुने देखिएको छ । थापा स्वयम् पनि महामन्त्रिको दावीलाई कसरी सेफल्याण्डिङ गर्ने भन्ने बारे सोचिरहेको एक थापा निकट नेताले कपन अनलाइनलाई बताए । उनका अनुसार हार्ने गरी महामन्त्रि उठ्नु भन्दा सहमहामन्त्रि वा त्यस्तो कुनै पदको संभावना खोज्ने तयारीमा थापा रहेका छन् । महामन्त्रिको उम्मेदवारीको विषयमा देउवा पक्षबाट महामन्त्रिका रुपमा उठ्ने करिब पक्का भएका ससुरा अर्जुननरसिंह केसीसँग थापाको लामो कुरा भएको बताइएको छ । एक दुई दिनभित्रमा बदलिँदो परिस्थिति बुझेर युवा नेता थापाले आफ्नो महामन्त्रिको दावी तथा अब के गर्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।