सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

इलाम, १३ फागुन । समयमै सम्पत्ति विवरण नबुझाएका कारण इलामका २४ जना शिक्षकले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

जिल्ला शिक्षा कार्यालयले बारम्बार सम्पत्ति विवरण बुझाउन शिक्षकहरूलाई निर्देशन दिएपनि विवरण नबुझाएका कारण जनही रु पाँच हजार जरिवाना तिर्नुपर्ने भएको हो ।

जिल्लामा एक हजार ५०० भन्दा बढी शिक्षक कार्यरत रहेपनि २४ शिक्षकले विवरण बुझाउन अटेर गरेका हुन् ।

शिक्षा मन्त्रालयले ८० शिक्षकले सम्पत्ति विवरण नबुझाएको भन्दै जिशिका इलाममा पत्राचार गरेपछि छानबिन गर्दा २४ शिक्षकले अझै पनि विवरण नबुझाएको पाइयो, जिशिकाका विद्यालय प्रशासन फाँटका प्रमुख डम्बरबहादुर सुवेदीले भन्नुभयो ।

सम्पत्ति विवरण बुझाउनका लागि मन्त्रालयले पठाएको तथ्याङ्कमा केहीले राजीनामा दिएको, सरुवा भएर गएका लगायतका शिक्षकको विवरणसमेत समावेश भएकाले मन्त्रालयले पठाएको सूची छानबिन गरी विवरण बुझाउन शिक्षकलाई निर्देशन दिइएको जिशिकाले जनाएको छ ।

आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्रमा स्थायी शिक्षकले सम्पत्ति विवरण भर्नुपर्ने कानुनी प्रावधान रहे पनि शिक्षकहरूले अटेर गरिरहेको पाइएको हो । सम्पत्ति विवरण नबुझाउने शिक्षकको तलबबाट जरिवाना कट्टा गरिने जिशिकाले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।