स्वप्निल दृष्टि : महेशराज खरेल

स्वप्निल दृष्टि :  महेशराज खरेल

कपन अनलाइन
काठमाडौं कात्तिक २२।
तिमी परपर, निक्कै पर
सुस्पष्ट देख्ने दृष्टि पाएर आएका हौ
मेरो विश्वास हो यो
अरुले देखेको भन्दा धेरै टाढा
क्षितिज पारीको पल्लो पाखामा
धरती आकाशलाई चुम्बन गरिरहेको
शप्तरङ्गी इन्द्रेणीलाई
तिमी दृष्टिगोचर गरिरहेकाछौ
हो त्यो मिलन
कति प्रिय छ, सुन्दर छ
उमङ्ग आनन्दले भरिएको छ
त्यस्लाई तिमी
आफुमा आत्मसात गरिरहेका छौ

मेरो आस्था र विश्वास्
तिमीमा चुलिएको यसकारण हो
तिमी निश्कलङ्क छौ
स्पष्ट छौ
चाँदीझै सफा सेतो हिउँझै टल्कने
स्पष्ट देखिने छुइने महसुस गरिने
चन्द्रमाझै सुकोमल स्निग्ध मलिन
नौनीझै मुलायम छुइने नरमपन
स्पर्श मात्रले पनि मन यसै नुहिने
हो त्यो हो तिम्रो सद्गुण गौरव गरिने

यही सद्भावयुक्त चेतना बोकेर
समग्र बिहानी ब्युँझाउँदै
झुल्कँदैछौ क्षितिज खोतलेर तिमी
पुराना थोत्रा अस्तित्व नष्ट गर्दै
नवचेतनाको शङ्खघोष गर्दै
हाम्रा घर आँगनीमा आज तिमी
मेरो स्वप्निल आस्थाका विश्वास्
हौ तिमी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।