चार मुक्तक : कल्पना मरासिनी

चार मुक्तक : कल्पना मरासिनी

कपन अनलाइन
काठमाडौं, असोज ३ ।

हेरिराख एकदिन मरेर जानेछु म
शीतको थोपा झैँ झरेर जानेछु म
कसैको स्मृतिमा रहन्छु, रहन्न खै,
दुःखको बैतरणी तरेर जानेछु म ।

तिम्रो जीवनको प्रथम सिरा बनूँ म
बहुमूल्य रत्न, कोहिनुर हिरा बनूँ म
देखाउनु छैन क्यै बाहिरी दुनियाँलाई,
भक्तिमा लीन, कृष्णकी मिरा बनूँ म ।

हाँस्थेँ हाँस्न त तर हाँसोको ढङ्ग बदलियो
आफ्नै कमजोरीसँग लड्ने जङ्ग बदलियो
फरकको हिसाब गरेर साध्य छैन, थाक्छु म,
तिमीलाई भेटेर यो मुहारको रङ्ग बदलियो ।

सिर्जना पश्चात् हरेक कुरा बिगार्ने कोही त छ
अशुद्धिलाई प्रशोधन गरी निखार्ने कोही त छ
मानवीय कर्म र प्रकृतिलाई सन्तुलनमा राखी,
जगत्लाई भवसागरबाट पार तार्ने कोही त छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।