मध्यरातको एकान्त : सुनिता अधिकारी (कविता)

मध्यरातको एकान्त : सुनिता अधिकारी (कविता)

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
निस्तब्ध मध्यरातको विस्तारमा
घडीका काँटाहरू अघि बढिरहेछन्,
तीन बजेको सन्देश सुनाउँदा पनि
पल्काभित्र विश्रामको छायाँ छैन ।

दस बजेतिर थकानले
निद्राको आलिङ्गन दिएको जस्तो लाग्छ,
तर दस पैंतालीसको क्षण
अचानक चकित पार्दै उठाउँछ—
जस्तो कुनै अदृश्य आशंकाले
हृदयलाई समातेझैँ
कम्पित औँलाले
आमालाई सन्देश पठाउँछु,
“जागा हुनुहुन्छ ?”
तर स्क्रिनमा
उहाँको उपस्थितिको उज्यालो देखिँदैन ।

निराशाको मौन साससँगै
कलेजकी एक परिचित अनुहार सम्झिन्छु,
उसलाई पठाएको सानो सन्देश
मेरो एकान्तको स्वीकारोक्ति हो ।

उसको उत्तर
अँध्यारोभित्र झिल्किने
सुकुमार दीपज्योति जस्तो लाग्छ
केही क्षणका लागि
मनको त्रास शान्त हुन्छ ।

तर विश्रामको निम्तोले
उसलाई पनि टाढा लैजान्छ,
संवाद टुंगिन्छ
र फेरि
कोठा, रात र चेतना
एकान्तमा विलीन हुन्छन् ।

न अध्ययनतर्फ ध्यान जान्छ,
न विश्रामको चाहना पूरा हुन्छ ।
बिहानको कर्तव्य सम्झँदा पनि
निद्रा भने
मबाट टाढा भासिन्छ ।

मोबाइलको क्षीण उज्यालोमा
समय चुपचाप बगिरहेको हुन्छ,
एक बजेको शून्यतामा
बाहिरबाट आएको
रहस्यमय ध्वनिले
मुटु झस्काइदिन्छ ।

त्यो ध्वनि
रेकर्डमा कैद गर्छु,
तर पछि सुन्दा
सबै सामान्य देखिन्छ
मानौँ डर
मनकै कल्पनाले बुनेको थियो ।

समय बिताउन
डिजिटल भीडभाडतिर मोडिन्छु,
तर त्यहाँको कोलाहलले पनि
एकान्तको खालीपन भर्न सक्दैन ।

थाहा नपाउँदै
रात गहिरिन्छ,
तीन बज्छ,
मोबाइल बन्द गरेर
निद्रालाई पुकार्छु
तर ऊ अझै टाढा उभिन्छ ।

चेतनाले सोधिरहन्छ—
“कहाँ भेटिन्छ साथ ?”
“कससँग बाँडूँ यो मौनता ?”
घर फर्किन चाहे
आकांक्षाहरू अधुरा रहन्छन्,
आमा र भाइलाई सम्झे
परिस्थितिको सीमाले रोकिन्छु ।

सानो परिवारको मौनता
र बाबाको टाढाको परिश्रम
यी रातहरूलाई
अझ गहिरो एकान्तमा डुबाउँछ ।
घडीले तीन बजेर बीस देखाउँछ,
तर पल्काहरू अझै जागा छन् ।

मनको अन्तरालमा
एउटा अनुभूति बिस्तारै उठ्छ
कहिलेकाहीँ
सबैभन्दा ठूलो सत्य यही हुन्छ,
मान्छे
आफ्नै जीवनको भीडभित्र
सबैभन्दा गहिरो
एक्लोपन बोकेर हिँडिरहेको हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।