म भित्रको मौनतामा देउराली : बुद्धिमान महर्जन
कपन अनलाइन
काठमाण्डौ,चैत ९।
‘आशा ! आज एकाबिहानै यो झोला र लुगाको पोको बोकेर कता ? खोलातिर हिडेकी ?
आशा, कर्मेलाई देख्ने बितिक्कै झस्किन् ! कर्मेको उपस्थितिमा उनी केही बोल्न सकिनन् ।
आशाको अवस्था देखेर कर्मेको मनमा खुलदुली प¥यो र उसले आशालाई तलदेखी माथिसम्म नियाल्दै । उनको अनुहार उठाउदै सोध्छ –
“के भयो आशा ! घरमा सबै ठिक छ नी ?”
चञ्चले आशा ! यतिखेर पनि केही बोल्न सकिनन् । कर्मेलाई अलमलमा पार्दै, उनी आँखीडीलबाट आँसुलाई शीतका थोपा सरी झार्दैछिन् ।
कर्मे गहिरो सोचमा प¥यो । ऊ आशाको वास्तविकता बुझ्न हतारमा छ !
“आशा तिमीलाई के भयो ! अस्तिको मेलामा खुसी हुँदै छमछम नाच्दैं रोधी भरेकी थियौं ! हिजो झरेको बेसीबाट आज म देउराली उक्लदा तिमीमा देखिएको वनझाक्रीको रूप र कोइलीको जस्तो आँखामा रातो अहड्ढार र आँखीडीलको गाजल पनि पहाडझैँ भत्केको छ ! आखिर के भयो तिमीलाई आशा ? केहि त बोल तिमीमा के आईप¥यो ?”
आशा, कर्मेतिर हेर्दै, उसको प्रश्नले आफूलाई रोक्न नसकेपछी, आँखाको आँसु झार्दै, उनी आफ्ना कथा छोटकरीमा भन्छिन् –“मेरो वैंश सकियो कर्मे ! मेरो बैँस सकियो ! तिम्रो चाहाना अँधुरै रहने भयो ! काठमाडौबाट गाउँ घुम्न आएका एक अपर्चित व्यक्तिले हिजो राती घरमा बास बस्दा, रातको बिचमा मेरो जवानीलाई गाईगोवर बनाएर ऊ राती नै गोठबाट भागेको छ ! म खाली डब्बा जस्तै भएको छु ! अब यो जिन्दगी कता बतासिने हो ! र कुन सारमा ठोकिँएर यो जीवन अन्त्य हुने हो ! मैले बोकेको पापलाई, म आफूसँगै बोकेर यो गाउँ र घरपरिवारबाट टाढा जादैछु ! मलाई माफ गरिदिनु कर्मे ! अब यो जन्ममा म कसैको हुन सक्दिन ! मलाई जानदेउ !”
आशाको कुराले कर्मेलाई जमीन छाडेजस्तै भयो । आशा, कर्मेको जिन्दगीको किताब थिईन । उनी नै कर्मेको हौसला थिईन ।
आशाको वास्तविक कुरामा ऊ पनि यतिखेर खाली डब्बा जस्तै भयो । चञ्चले आशा ! जवानीले भरपुर भएतापनि, उनी सधैं आफूलाई बच्चै ठान्थिन् । कर्मे उनको बिचारलाई नजर अन्दाज गथ्र्यो । तर आज उनी माथि भएको ब्रजपातमा, कर्मे आफ्नो जिन्दगीलाई धिँकार्दै छ ।
कर्मे यतिखेर दुईधारको तरबारमा छ ! कर्मेको निष्क्रिय सोचले आशालाई एकछिन रोक्दै, एकछेउमा बसाउछ !
कुरा कताबाट सुरू गरेर कता अन्त्य गर्ने हो ! देउराली पनि मौन छ ! आशाको लक्ष्य बुझ्नु कर्मेको दायित्व बनेको छ । रातो कोइलीको जस्तो अहड्ढार भरिएको आँखा र आफ्नो सुन्दरताबाट बाहिरीएर वनझाक्री जस्तै देखिएकी आशालाई, उसले पहिलेको रूपमा देख्न पाउछ या पाउदैन, ऊ गहिरो सोचमा छ ! उसले धेरै सोचे पश्चात केही बुझेझैँ गरी, आशालाई सम्झाउदै भन्छ –
“पानीघट्टा जति घुमेपनि, उसको काम अन्नलाई सम्हालेर पिस्ने काम हो ! भोकको चाहानामा तृप्त दिने सहारा हो ! तिम्रो के गल्ती छ र ! अँधेरी रात आफैमा अन्धो छ । सूर्यको घाम जस्तै नारी पनि कसैको चाहाना हो ! सूर्य हरेक दिन अछुत भएर पनि ऊ हरेक बिहानीमा आफूभित्र पवित्र भावनासहित बिउझन्छ र हामीलाई माया दिन सफल छ !”
कर्मे, एकछिन रोकिँदै, पुनः ऊ आफ्नो मनको कुरा स्पष्ट पार्दै भन्छ–
“तिमी मेरो सपना हौं ! तिमीभित्र पवित्रता छ ! एकदिन आको हुरीले जिन्दगी तहस् नहस् हुन सक्दैन, आशा ! मलाई बाच्नु छ ! तिम्रो सहारामा ! तिमी मेरो जिन्दगीको सार्थक अभिनेत्री हौं । तिमी हावासँगै कुनै सारमा ठोकिँदा, मेरो पनि त सपना तिमीसँगै सकिँने छ । भुलीदेउ अंधेरी रात ! भुलीदेउ दैत्यको उपचयहरू ! मैले सबै कुरा थाहा पाइहाले ! म तिमीलाई स्वीकार्न तयार छु ! यही गाउँमा सँगै बसौला र जिन्दगीको डोरी कस्सेर बाटौला, तिमी र म मिलेर !”
आशा, कर्मेको कुरा सुनेर आँसुका धाराले ती अँधेरी रातमा लागेको कालो गाजल पखाल्न खोज्छिन् । उसभित्र बाच्ने चाहाना र उसको आशा आँखाभरी देख्छिन् । तर अँधेरी रातमा ठेस् लागेको घाउमा कर्मेले दिने दिलको महलम कतिदिन धान्ने हो ! उनी आफ्नो नजरबाट आफै गिरिसकिन । उनले गाउँमा बाच्ने भन्दा, कतै उनले आफ्नो जीवन अन्त्य गर्न बेस ठानी सकिन । कर्मेको कुरालाई अँधुरो मै राखी उनी कर्मेसँग आफू हिड्न निस्केको बाटोमा जान पुनः अनुमति माग्छिन् –“म तिम्रो इज्जत गर्छु । तर यतिखेर मलाई जानदेउ कर्मे”
कर्मेको मनले आशालाई जान दिएको छैन् । ऊ आशालाई सम्झाउदैछ – झझआज हावाहरूले श्वास रोकेर यतिखेर देउराली मौनतामा छ । आकाशमा बादल स्तब्ध छन् । नजिकका खोलानाला पनि आवाज बिहिन छन् । सायद भगवानको यही इच्छा होला ! हाम्रो वार्तलाप अंधेरी रातमा झैँ सबै चुपचाप छन् ,!
कर्मे आफ्नो भनाईलाई निरन्तरता दिदै भन्छ– झझदेउराली यहीँ हो ! यहाँ भएका सारा देवी देवता हाम्रै हो ! देउरालीलाई भाकेर,तोरणको मालामा तिम्रै नाम जपेर,सारा जिन्दगी तिम्रै लागि जुटाउछु !
विन्ती ! तिमी मेरी थियौ, मेरी हौं, मेरै भएर बस्नु !
कर्मेको कुरा र उसको निःस्वार्थ प्रेममा आशा भक्कानेर कर्मेको काँखमा रूदैछिन् । कर्मेको चाहानामा उनी सधैँ बच्चा बनी हिड्दा आज उनी आफ्नो बालापनलाई चिथोर्दैछिन् । उनले आफ्नो मनभित्र रहेको कालो बादल कसरी हटाउने हो ! आफ्नो मनको उज्यालो कर्मेलाई कसरी दिने हो ! उनले कर्मेको पवित्र प्रेममा आफूलाई खोज्दैछिन् । उनले झारेको आँसुले आज कर्मेलाई पनि निकै चिस्याएको छ । सम्भवतः कर्मेको सल्लाह र उसको निःस्वार्थ प्रेममा आशालाई बाच्ने आधार छ । तर उनी आफू आफूभित्रै लज्जित छिन् ।कर्मे, आशालाई सधैं आफ्नो आँखा अगाडि राख्ने सपना बुन्दै भन्छ– “आजको बिहानीमा सूर्यको पवित्रतालाई साक्षी राखेर, हाम्रो आगामी दिनमा आउने सम्पूर्ण सुख, दुःखमा एक हुन म यतिखेरै तिम्रो सिउदोमा सिन्दुर हाल्ने अनुमति चाहन्छु । स्वीकार गर मेरो अनुमति र हिड मसँग जिन्दगीको नया आयाम भर्न ।”
आशा, कर्मेको बारम्बारको पस्ताब र उसको महान्तामा उनी झन भक्कानेर रूदैछिन् कर्मे प्रती आशावादी बन्दै भन्छिन– “म अबुज बालिकालाई तिमीले यति धेरै माया दिँदैछौँ । अँधेरीको निशानामा मलाई नै रोजेर जिउने आशा भर्दछौं । तिम्रो जिउँने चाहानाको कथामा म खाली पाना भइँ बसौला । तर एकलासको मेरो जिन्दगीको ताप कतै पोखिदैं गर्दा मेरो जवानीको वासना कतै बिलाउदै गर्दा म औंसीको जून झैँ कतै हराउने पो हो कि ?”
आशा एकछिन रोकिँदै पुनः भन्छिन –
पाउनु सफलता होला ! अँधेरी रातमा सूर्य हराउदै गर्दा विलासिताको तिम्रो रातमा म जून बन्न सकुला या नसकुला ! तिम्रा इच्छा आंकांक्षामा मेरो सभ्यताले सफलता पाउला नपाउला । म लज्जित छु, कर्मे ! तिम्रो चाहानामा ठिङ्गो घर नबोले झैँ ! तिम्रो चाहानामा म आहाको बिम्ब मात्रै’ पो हुने हो कि ?
ञकर्मे, आशाको लामो वार्ता र समयलाई छोट्याउदै, आफ्नो झोलामा बोकी ल्याको सिन्दुर र पोते देखाउदै भन्छ– “देउरालीमा ग्रहण लाग्नु अगावै मैले सहरदेखी तिम्रै लागि किनेर ल्याएको सिन्दुर र पोतेको साइत म यतिखेरै तिमीमा सुम्पेर आजैदेखी तिमीभित्रको डरलाई आफ्नो बनाउन चाहन्छु । स्वीकार यो मेरो अधिकारलाई ।”
हर समयमा सम्झनाको उदाहरणीय बनेकी आशालाई कर्मेले गलामा पोते र शिरमा सिउदो हाल्दै भन्छ – “आजदेखी तिमी मेरी भएको स्वीकारे ! अबको दिनदेखी हामी आफ्ना खुसीका कुरा गर्ने छौं ! हामी आफ्नो लक्ष्य प्राप्तीमा हिड्ने छौं ! अब विलम्ब नगरी हामी यो देउरालीको मौनतालाई मौनतामै छाडी हिड्नु पर्छ । हिड मेरो साथमा तिम्रो आमा बुवाको आशिर्वाद लिन ।”
आशाले कर्मेको जोस र भावनात्मक सोचलाई साथ दिनु सिवाय यतिखेर कुनै उपाय थिएन । उनी देउराली र देउरालीमा रहेका सम्पूर्ण देवी देवतालाई धन्यवाद दिँदै, उनी यतिखेर कर्मेको पछी घरतिर लागिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
