आर्यघाटको मौनता : पुष्पा धमला स्वप्निल (कविता)
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
पशुपतिको छायाँमा
धुवाँ बनेर उड्छ एउटा जीवन,
चिताको न्यानोमा
गुन्जिरहन्छ शंखको धुनसगै,
निशब्द अन्त्यको स्वर,
घण्टीको ध्वनिमा लुकेको छ
एक हातको बिदाइ,
र अर्को हातको प्रार्थना ।
मन्दिर शान्त छ—
तर मन भित्र भित्र आँधी चलेको छ ।
कसैका आँखाले अन्तिम पटक हेरे,
कसैका हातले फूल अर्पण गरे,
तर समय ?
त्यो त कहिल्यै रोकिएन ।
निरन्तर चलिरह्यो,
कसैको आँखामा आसु छ,
कोही फोटो खिच्न हतारमा छन्
कोही हासेका छन् कोही रोएका,
यस्तै यस्तै बिचित्र हेरेर आर्यघाट मौन छ ।।।
हरेक चितासँग
एउटा घरको अभिभाबक जल्छ,
हरेक खरानीमा
उसको सम्झनाको गन्ध बाँच्छ ।
जीवन यहाँ आउँछ
प्रसाद बोकेर,
फर्कन्छ—
एक मुटु चिथोरिएको शरिर बोकेर ।
पशुपति मौन छ,
तर सबै सुनिरहेको छ ।
आर्यघाट बोल्दैन,
तर गहिरो सोचमा डुबिइरहेको छ ।
आफ्नै अगाडि जलिरहेको चिता
मौन बसेर हेरिरहेको छ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
