३७ वर्षपछि मन्थली : समय, सडक र स्मृतिको यात्रा ( महेन्द्र चालिसे)

३७ वर्षपछि मन्थली : समय, सडक र स्मृतिको यात्रा ( महेन्द्र चालिसे)

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

“दाइ, खै कतै जाने होइन?” एकदिन पुरु चालिसेको घरमा भएको जमघट जहां म, मेरी श्रीमति इन्दिरा, नारायण जोशी, तारा जोशी र बद्री पौडेल निम्त्याईएका थियौं । त्यहा पुरुकीश्रीमति सुधा प्रश्न गर्दै अझ थप्छिन– “दाइ हजुरले चासो राख्नुभएन भने त खै हामी त कतै घुम्न जानै नपाउने रहेछौं ।”
सुधाको गुनासो सुनेपछि मभित्र रहेको घुमन्ते रहरले फेरि एकपल्ट चलमलाऊने मौका पाईहाल्यो र मैले बद्रीजीलाई भनें पनि ल त बद्रीजी कता जाने एउटा कार्यक्रम तय गर्नोस न । तर बद्रीजीको कुनै निर्णय नगर्ने बानीको कारण ऊंहाले योजना बनाउनु हुन्छ भन्ने त मलाई भर थिएन । त्यसैले आफैले नै कतै जाने निधोगर्नु प¥यो भन्ने बिचारले बिभिन्न स्थानका बारेमा सोच्दैथिएं ।
त्यहीबेला मोबाइलमा ३७ बर्ष पहिले मन्थलीमा एउटै परियोजनामा काम गरेका सहायक भाइ बाबुराजा दहालको एउटा मेसेज आयो र झ्वाट्ट मन्थली संझिएं– कस्तो भयो होला त्यतिबेलाको मन्थली, जहाँ मैले झण्डै झण्डै ५–७ दिन जस्तो त बिहान दिउसो र राति पनि दूध र फलफूल मात्रै खाएर बिताएको थिएं ।
त्यतिबेला म जगदिश घिमिरे दाजुहरूले चलाउनुभएको गैर सरकारी संस्था “तामाकोसी सेवा समिति” मा संयोजक बनेर गएको थिएं । जगदिशदाइ काठमाडौमा बस्नुहुन्थ्यो र मन्थलीमा ऊंहाका जेठादाइ दिनेश शर्मा बस्नुहुन्थ्यो । म मन्थली गएर बस्ने कोठाको ब्यबस्था नहुन्जेल दिनेशदाइकै घरमा बस्ने ब्यबस्था गर्नुभएको थियो । दिनेशदाइका परिवार पनि काठमाडौं मै बस्नेभएकोले ऊंहाको त्यहाको जीवन पनि बिन्दास नै हुने गर्दो रहेछ । त्यहिंबिचमा दिनेशदाइ हसाउदै भन्नुहुन्थ्यो “महेन्द्रभाइ, के खाना खानु पर्छ टन्न मिलिक र फुरुट खानपाए पछि ।” हुन पनि बिभिन्न स्थानिय फलफुल र भैसीको दूध झण्डै एकचोटिमा आधामाना जस्तो खाएपछि त्यो दालभातको त संझनै हुदोरहेनछ ।
जब मन्थलीको संझना भयो तब सोच आयो किन १ रात भएपनि पुरानो यादलाई पुनर्ताजगी गर्न मन्थली नजाने त ? यो बिचार आएपछि साथीहरू संग सल्लाह गरेर २ वटा गाडिमा १० जना जाने निधोभयो । तर यसपटक जानेमान्छेको हिसाब गर्दागर्दै मैले आफैलाई गन्न भुलेछु– पुरुको गाडिमा यो यो गरी ५ जना मेरो गाडिमा यो यो गरी ५ जना भनेर केही साथीहरूलाई बलजफ्ती नै जान मंजुर गराईयो । तर मेरो गाडिमा त आफु बाहेक नै ५ जनालाई पक्का गराईएछ । यसरी मिति २०८२ पुष २५ गते बिहान म, इन्दिरा चालिसे, पुरु चालिसे, सुधा चालिसे, गणेश बराल, तारा जोशी, दीपक रेग्मी, रामेश्वर ढुंगाना, उषा ढुंगाना, बद्री पौडेल र धन्वनतरी कात्यायान गरी ११ जना मन्थलीकालागि प्रस्थान ग¥यौं मनमा कोतुहलता बोकेर ।
३७वर्षअघि छाडेको मन्थली फेरि जानुप¥यो भन्ने विचार आफैंमा एउटा स्मृतिको ढोका खोलिनुजस्तै थियो । यो यात्रा केवल ठाउँमा पुग्ने योजना मात्र थिएन, यो त समयसँग भेटघाट गर्ने तयारी थियो । यसपटक गाडीको स्टेरिङ आफ्नै हातमा थियो । सायद त्यसैले पनि यो यात्रा अझ आत्मीय, अझ जिम्मेवार र अझ भावनात्मक बन्यो ।
३७वर्ष भनेको केवल अंक होइन रहेछ, त्यो त एउटा पूरै युग रहेछ । जीवनले घुमाएर फेरि मन्थली लैजानुपर्छ भन्ने विचार मनमा पलाउँदा, म बुझ्दै थिएँ—यो यात्रा गन्तव्यतिर होइन, स्मृतितिर जाने हो । यसपटक गाडीको स्टेरिङ आफ्नै हातमा थियो। स्टेरिङसँगै म आफ्ना सम्झनाहरू पनि मोड्दै थिएँ ।
घरबाट निस्कँदा बिहानको उज्यालोले शहरलाई बिस्तारै ब्युँझाइरहेको थियो । चाबहिलको चहलपहल, कोटेश्वरको हतार, मानिसहरूका अनुहारमा समयको अभाव—यी सबै दृश्य पार गर्दै हामी शहरबाट फुत्किँदै थियौं। साँगा पुगेपछि उपत्यकाको सिमाना सकियो, र त्यससँगै एउटा पुरानो समयको ढोका खुल्यो ।
बनेपा र धुलिखेल आज पहिलेभन्दा निकै बदलिएका छन् । पहिलाका साँघुरा, धुलाम्य बाटा आज फराकिला र कालोपत्रे बनेका छन् । गाडी सहजै कुदिरहेको थियो, तर मन भने बारम्बार ३७ वर्षअघि फर्किरहेको थियो—जब यही यात्रा एउटा साहसजस्तै लाग्थ्यो ।
भकुण्डेबेंसी, मुलकोट, खुर्कोट हुँदै तामाकोसी देखिँदा मन एकाएक भारी भयो । नदी उही थियो, बग्ने तरिका उही, तर म भने उही रहेनछु । नदीले मलाई सोधेजस्तो लाग्यो—“यत्रो समय कहाँ हरायौ ?” मसँग उत्तर थिएन, केवल मौनता थियो ।
मन्थलीमा पाइला टेक्दा पहिलो अनुभूति अचम्म भयो—यो मन्थली त्यो मन्थली रहेनछ । त्यो मन्थली थिएन, जुन मेरो स्मृतिमा सुरक्षित थियो । देवकोटाचोक, व्यवस्थित बजार, मानिसहरूको आवतजावत—सबैले मन्थलीलाई एउटा जीवन्त व्यापारिक केन्द्रको रूपमा उभ्याइदिएको र आधुनिकताको पहिरन ओढाइदिएको थियो । जहाँ कहिल्यै केही थिएन जस्तो लाग्थ्यो आज त्यही ठाउँ सम्भावनाको केन्द्र बनेको थियो । तामाकोसी नदी उही बगिरहेको थियो, तर उसको किनारमा उभिएका सपना र आकांक्षाहरू पूर्ण रूपमा फेरिएका थिए ।
तामाकोसीको किनारमा उभिँदा समय अलिकति थामिएको जस्तो लाग्यो । नदीले बग्दै गर्दा मेरा स्मृतिहरू पनि बग्न थाले । ३७वर्षअघि यहाँ उभिएको म र आज उभिएको मबीच कति फरक रहेछ ! नदीले दुवैलाई उस्तै भावले छोए पनि अनुभूति भने बिल्कुल फरक ।
तीन लाल पार्कमा पुग्दा मन्थलीले आफ्नो आत्मा देखायो । कृष्णलाल (मकैपर्व), गंगालाल र पुष्पलालका सालिकहरू केवल ढुंगाका आकृति थिएनन्; ती त विचारका स्तम्भ थिए । आधुनिक बजारको कोलाहलबीच पनि इतिहास शान्त स्वरमा बोलेको सुनिन्थ्यो ।
त्यो बेला मन्थली सानो थियो, सायद त्यसैले आत्मीय थियो । आज मन्थली ठूलो भएको छ, आत्मविश्वासी भएको छ । विकासले सुविधा दिएको छ, तर कताकता एउटा प्रश्न पनि छोडेको छ—के हामीले केही गुमायौं ? सायद गुमायौं, सायद केही पायौं पनि । समयले सधैं बराबरी गर्दैन ।
यो यात्रा मलाई एउटा निष्कर्षमा पु¥याएर टुंगियो—मन्थली केवल भौगोलिक ठाउँ होइन, यो परिवर्तनको साक्षी हो । समयले ठाउँलाई कसरी फेरिन्छ, र ठाउँले मानिसलाई कसरी फेरि आफूभित्र फर्काएर लैजान्छ, मन्थलीले त्यसको पाठ सिकायो ।
फर्किँदा आकाशे, खिम्ती, तामाकोसी, चरिकोट, दोललाघाट हुँदै यात्रा अघि बढ्दा लाग्यो—मन्थली मबाट टाढिँदै थिएन, मन्थली मभित्र अझ गहिरो पस्दै थियो । पाँचखाल, धुलिखेल, बनेपा पार गर्दा शहर फेरि नजिकिँदै थियो, तर मन भने अझै मन्थलीमै थियो ।
घर आइपुग्दा साँझ परिसकेको थियो । दिन ढलिसकेको थियो, तर एउटा यात्रा भने मनभित्र अझै जारी थियो । ३७वर्षपछि मन्थली गएर फर्किएको म, वास्तवमा आफैंभित्रको ३७ वर्ष लामो दूरी नापेर आएको थिएँ ।
मन्थली अब केवल ठाउँ होइन । मन्थली समय हो । मन्थली स्मृति हो । मन्थली परिवर्तनको साक्षी हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।