परिवर्तन ? त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ,चैत ७।
फेरिँदैछन् सधैँ नौलो रङ्गमा महिनाहरू
फेरिँदैछन् अझै अग्ला घाम छाया तथा तरू
फेरिन्छन् पात्र फेरिन्छन् अनुहार अनेकन
तर खै चित्तको रङ्ग भएन परिवर्तन
फेरिए तुल पार्टीका चोकमा देखिने गरी
फेरिए वादका नारा चिच्याउँदै उसै गरी
फेरिए सपना बाँड्ने आश्वासन दिँने जन
लिम्पिया लिपुको घाउ भएन परिवर्तन
सिँहदर्बारमा भान्छे फेरिँदै छन् बरोबर
विमानस्थलको लर्को घटेन त्यो रतीभर
ढाँचा ढर्रा अहंकार फेरिए अनि भाषण
गिटी कुट्नेत्यतै रुन्छन् भएन परिवर्तन
कैल्यै बन्दुकले आँखा देखेनन् पड्किँदै रहे
कैल्यै पुगेन पैसाले परन्तु पात्र फेरिए
कुर्सीको लागि उस्तै छ झम्टाझम्टी अनेकन
फोहोरी टुकुचा छाती भएन परिवर्तन
माग्ने आदत यो फालौँ भन्यो मान्दैन क्वै पनि
नपुग्ने नबोलिहालौँ भन्यो मान्दैन क्वै पनि
नबिर्सौँ जननी पुज्न भन्यो मान्दैन क्वै झन
फेरियो युग सोचाइ भएन परिवर्तन
ठडिन्छन् जति सत्तामा उक्लिने जनका घर
लाजले त्यति झुक्दैछन् गोली खानेहरु पर
रेटियो देशको छाती आस्थाको धुन देखिन
ढल्दै उठ्दै ग¥यो सत्ता भएन परिवर्तन
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
