चार मुक्तक : रुपा रिसाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
जीवन भन्नु, हो मृग तृष्णा, मेटिन्न चाहना
फक्रेर यौटा, फुल्दछ फूल, छर्दछ वाशना
दिन पो केही, नसके मैले, अन्तर मनको,
सदैव यहीँ, तिमीमा अर्पण, यो शुभ कामना ।
खडेरीमा बारीका कान्ला भिज्न थाले शीतले
छिटफुट पानीका थोपा हर्ष जित्न थाले गीतले
रुखासुख्खा हिउँद मुस्कुराँए काला बादल झरे,
हरियाली फाँटका बालीहरु खित्न थाले रीतले ।
पूर्णिमाको जून जस्तै आशाको दीप बालेर आऊ
आँखाको नानीमा बस्नलाई विश्वास पालेर आऊ
चन्द्रसूर्य झिलमिल सितारा झैं तेजिला ज्योतिले,
बुद्धि विज्ञान भरी घमण्डको पगरी फालेर आऊ ।
सूर्यका ज्योति धर्तीमा छाउन साईत छान्नु हुन्छ
अनेकौं सुकर्म कलाशीपको परिचर्चा मान्नु हुन्छ
शुभकामना दिनु आत्मीय आमाको कोखलाई नै,
सुयोग्य सन्तान जन्माउने चाह महान् ठान्नु हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
