आँधिको शब्दचित्र : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
१. हवा उड्यो, उडाउँदै लग्यो अनेक पात त्यो,
जताततै चलाउँदै विनाशपूर्ण हात त्यो,
गुडाउँदै लग्यो कता ? दिशा थिएन निश्चित
समस्त छक्क पर्दथे, बुझी विदीर्ण हालत
२. कता बसेर हुन्डरी ? उठ्यो जुरुक्क बेसरी,
कता बसेर बोल्छ त्यो ? भरक्क भर्र भर्भरी
पछारिए दराहरू बनेर पिल्ल पिल्पिले,
निल्यो सुपुक्क गाँसमै अनेक बाल, चुल्बुले,
३. हरक्क छैन वासना, सरक्क सर्छ मूर्छना
तरक्क झर्छ आँसुमा सलल्ल सल्ल वेदना,
झटट्ट झट्ट भाँचिए सलक्क उभ्भिनेहरू,
फटक्क फट्ट फड्किए, लमक्क लम्किनेहरू
४. हुरुर्र हुर्र हुर्हुरी, निशान शान बालिए,
परी विभेद भेदमा निवास वास ढालिए,
निभाउने थिए कहाँ ? उठाउने थिए कहाँ ?
सशक्त रक्त उम्लियो, चलेर भेल–भाद्रमा
५. म खोज्छु छन्द, छैन त्यो, विरक्त छन्दमा थियो
प्रदीप्त लुप्त भावको प्रबन्ध द्वन्द्वमा थियो
जुरुक्क ढाल्नुमा थियो, फुरुक्क बाल्नुमा थियो,
दिएर चोट बोटमा, तलै खसाल्नुमा थियो
६. निसाफ के छ ? छैन भो, हिसाब के छ ? छैन भो,
उठ्यो, बढ्यो, डढ्यो, गड्यो, सुवास के छ ? छैन भो,
गलक्क गल्कियो, सबै थपक्क थन्कियो कहाँ ?
घुलेर आउला भला !, समस्त त्यो चुनावमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
