साहित्य समाजको अभिन्न अङ्ग : प्रशुराम अधिकारी
कपन अनलाइन
काठमाण्डौ,फगुन २।
साझा संस्कृति, मूल्य–मान्यता, परम्परा र उद्देश्य बोकेर एकै स्थानमा सङ्गठित भई बस्ने मानिसहरूको समूह नै समाज हो ।समाजका विशेषता साझा संस्कृति, सामाजिक संरचना, परस्पर सम्बन्ध, सामाजिक नियन्त्रण, र निरन्तरता हुन्। व्यक्ति समाजको हिस्सा हो ।व्यक्तिले समाजको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ । व्यक्तिले समाजबाट शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सुरक्षा, र सामाजिक समर्थन प्राप्त गरेर आफ्ना आवश्यकता पूरा गर्छ ।समाजका विविध आयाम हुन्छन् । ति विभिन्न सामाजिक आयामहरुका माध्यमबाट समाजको समृद्धि नै व्यक्तिको मूल उद्देश्य हो । समाजले व्यक्तिलाई धेरै दिएको हुन्छ । बदलामा व्यक्तिले पनि समाजलाई केही दिनुपर्छ । व्यक्ति र समाज एक अर्कोका परिपूरक बन्नुपर्छ ।
साहित्य समाजको एउटा अङ्ग हो । समाजको संस्कार र सभ्यता विकासमा साहित्यको अहम भूमिका हुन्छ । साहित्यको कुनै सर्वसम्मत र सर्वमान्य परिभाषा दिन निकै कठिन छ, तर छोटकरीमा भन्ने हो भने शब्दको माध्यमबाट मानवीय अनुभूतिको प्रभावकारी एवं रूचिको अभिव्यक्ति नै साहित्य हो ।
लेखन कला हो र विज्ञान पनि।साहित्य कलात्मक रुपमा गरिने सामाजिक यथार्थको अभिव्यक्ति हो। यद्यपि, यथार्थ सधैं मूर्त र अन्तिम नहुने भएकाले त्यस्तो कलापूर्ण अभिव्यक्ति पनि यही नै अन्तिम भन्ने हुँदैन। भाषाको कलात्मकता, नवीनता र प्रयोगधर्मिता मार्फत साहित्यको संरचना, विषयवस्तु र आशय समय अनुसार परिवर्तन भइरहेको हुन्छ।
साहित्यका सबै विधा वा सिर्जना र तिनको समाजसँगको सम्बन्धबारे चर्चा हुन सक्छ। लेखनका दृष्टिले आख्यान र गैरआख्यानका अनेक भेद होलान्, तर शिल्पका दृष्टिले उनीहरूले एकअर्काबाट धेरै सिक्न सक्छन्।
साहित्यकारको समाजसित दुई किसिमको सम्बन्ध हुन्छ । एउटा व्यक्तिगत सम्बन्ध र अर्को चाहिँ साहित्यिक सम्बन्ध । यी दुई सम्बन्धले साहित्यकारमाथि दोहोरो जिम्मेवारी थोपर्छ । एउटा सामान्य जिम्मेवारी, जुन कुनै समाजको सबै व्यक्ति या कुनै देशको नागरिकहरूका निम्ति एकैप्रकारको हुन्छ । दोस्रो विशेष जिम्मेवारी हुन्छ, जुन साहित्यकारहरूको आफ्नो कला या पेशासित जोडिएको हुन्छ । यी दुई सम्बन्ध र यसबाट उत्पन्न हुने जिम्मेवारी एकआपसमा बेग्लाबेग्लै होइनन्, बरू अन्तरसम्बन्धित हुन् ।
साहित्य समाजको ऐना रहेको र यसले समाजको प्रतिविम्ब उतार्नुपर्ने भनाइ आम प्रचलनमा छ। अर्कातर्फ, थप आग्रहयुक्त भनाइ पनि सुनिन्छन्– साहित्यले समाजलाई दिशानिर्देश गर्ने, समाजलाई ‘सही’ बाटोमा डो¥याउने दायित्वबोध गर्नुपर्छ आदि। अर्कोथरीले चाहिँ साहित्य सर्जकको दिमागी उपज वा भावनात्मक आवेग रहेको भन्दै त्यसले समाजलाई प्रतिविम्बन वा दिशानिर्देश गर्नुपर्छ÷पर्दैन भन्ने बहस नै असान्दर्भिक ठान्छन्। उनीहरूका विचारमा साहित्यलाई साहित्यकारकै मर्जीमा छाडिदिनुपर्छ, सामाजिक प्रतिनिधित्व वा दिशानिर्देशनको बोझ बोकाइनु हुँदैन। साहित्य र समाजको सम्बन्धलाई केन्द्रमा राखेर भएका यस्ता अनगिन्ती बहसले थप बहसको आवश्यकतालाई अझ सान्दर्भिक बनाएका छन्।
अभिव्यक्तिका दुई पाटा छन्— पहिलो वर्णन र दोस्रो मूल्याङ्कन । वर्णन भन्नाले ती सम्पूर्ण मानसिक घटनाको चित्राङ्कन, तिनका सर्वाङ्गीण पक्षहरूको रूपान्तरणको नाम हो । यो चिन्तन, दृष्टिकोण, अध्ययन र अनुविक्षणका फलस्वरूप मनमष्तिष्कमा प्रतिबिम्वित हुन्छन् र ती तत्त्वहरूको संयोजनलाई मूल्याङ्कन भनिन्छ, जसद्वारा प्रस्तुत वस्तुको गुण, दोष, सौन्दर्य–असौन्दर्य, महत्व–अमहत्व आदिको आँकलन गर्न सकिन्छ ।
अनुभूतिका दुई पक्ष छन् । पहिलो भावना र दोस्रो विवेक अर्थात् ती सारा प्रभाव, भावना र मानसिक स्थितिहरू सिधै व्यक्तिगत अनुभवको रूपमा व्यक्तिको मष्तिष्कमा प्रकट हुन्छन् । दोस्रो बौद्धिक प्रभावबाट मनुष्य आफ्नो परिवेश, समाज र समकालीन मानवीय भाइचाराको सामूहिक अनुभवबाट, चेतन या अचेतनरूपले आफूभित्र ग्रहण गर्दछ । यो सामूहिक अनुभव भावना र कल्पनाको अनुभवबाट व्यक्तिगत अनुभूतिमा परिवर्तन हुन जान्छ ।
विवेकका दुई कार्यहरू छन्— विश्लेषण र संश्लेषण । बाह्य र आन्तरिक घटनाहरू र भावस्थितिको निर्माणकारी तत्वहरू अथवा तिनलाई वास्तविक तथ्य, सम्बन्ध र सञ्चारक नियमहरूमा स्पष्ट गर्नु ।अनुभवको सत्यताद्वारा त्यसको महत्व या महत्वहीनताको परीक्षाबाट यथार्थको गहिराई र व्यापकतासित अनुभवको गहिराई र विस्तारको सम्बन्ध छ ।
यथार्थ जगतको जुन मानव क्षेत्र छ, त्यसका तीनवटा परिधि छन् । पहिलो व्यक्तिको आफ्नो परिधि, दोस्रो उसको समूह वा समाज र तेस्रो चाहिँ समकालीन मानवीय भाइचारा । प्रत्येक परिधिले साहित्यकारको मानसमा केही न केही हलचल उत्पन्न गर्दछ । त्यसैको लहरले अर्को परिधिको हलचलमा मिलेर भावावेश वा घटना वा अनुभूतिलाई जन्म दिन्छ । आफ्ना व्यक्तिगत भावना, भावदशाहरू दुःख–सुख, आनन्द, राग–विराग आदि आफ्नो युगीन सामाजिक वातावरण र त्यसलाई निर्माण गर्ने तत्व शान्ति र वैभव यस्तै अर्कोतिर, जनताको असमान अधिकार, उद्वार भावना र दूरदर्शिता र दोस्रोतिर दैन्य र दुर्दशा, दासता र आतङ्क, अज्ञान र सङ्कीर्ण दृष्टि, शोषण र दमन, आफ्नो समयको संसारको वास्तविकता र त्यसको आधारभूत पक्ष—शान्ति वा युद्ध र मारकाट, भाइचारा र मित्रता वा पुँजीवादी लुटखसोट—यी सबैको सामुहिक अध्ययन र जाँचपडतालबाट साहित्यकारको व्यापक अनुभव सञ्चित हुन्छ । यसैबाट साहित्यकारको रचनाले विभिन्न आयामहरू यथार्थको उद्घाटन गर्दछ ।
साहित्यिक अभिव्यक्तिका दुई उद्देश्य छन्— एक स्वान्त सुखाय, दोस्रो यथार्थको उद्घाटन । यथार्थको उद्घाटन आफ्नो समाज र आफ्नो युगको गम्भीर विश्लेषण र साँचो चित्रणको नाम हो । जसले गर्दा यसबाट समाजको झञ्झट र समस्याबाट र समस्याबाट ती समस्याहरूको चरित्र र समस्याहरूको कार्य कारण सम्बन्ध र राम्रो किसिमले उद्घाटित हुन सकोस् ।
साहित्यसमाजका हरेक पक्षसँगसँगै अगाडि बढ्छ र बढ्नुपर्दछ । साहित्य राजनीतिको हतियार भएकोले शासकहरूलाई त्यसले घोच्नुपर्दछ । राजनीति देश र जनताको हितको लागि जनताद्वारा स्थापित सामान्य मान्यता हो । राजनीति सही ढङ्गले अगाडि बढेन भने समाजमा अनेक जटिलता पैदा हुन्छ । राजनीतिको केन्द्रविन्दु समाज र समाजका बेथितिहरू हुने गर्दछन् । सामाजिक संरचना, तिनमा निहित जटिलता, मानवीय सम्बन्ध र व्यवहार आदिलाई समय–सन्दर्भमा बोध गर्ने र वृत्तान्त तयार गर्ने सवालमा विधा र विधिका हिसाबले मानवशास्त्र अब्बल ठानिन्छ । यिनीहरू विशिष्ट विषयमा केन्द्रित रही लामो समय निश्चित स्थान र समुदायसँगै बस्छन्, ताकि मानव व्यवहारका अनेकन् पाटा बुझ्न सकियोस्। यथार्थलाई सम्पूर्णतामा उजागर गर्ने सवालमा साहित्य सधैं अपूर्ण हुन्छ । तथापि, समाज र साहित्यको सह–उद्विकासी सम्बन्धबारे मीमांसा भइरहनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
