त्यै सत्य त्यै सुन्दर : त्रिलोचन आचार्य ( कविता )

त्यै सत्य त्यै सुन्दर : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ,फगुन २।

लाग्दा ठेश भनेर जागृत बनी
हिँड्ने कुरा होस हो
चढ्नै पर्छ अवश्य नै शिखर त्यो उठ्ने कुरा जोस हो
उल्टो काम गरे कुनै नियतले त्यो खोट हो दोष हो
नाघ्दै उन्नतिका थला अघि बढे त्यै सुख्ख सन्तोष हो
गर्ने मात्र भनी प्रयत्न नगरे धोका त्यही हो त्यही
देखी दूर भविष्य हिँड्नु मनको आँखा त्यही हो त्यही
गर्दैछौँ छलछाम केवल भने त्यै पाप हो दुस्कर
सच्चा कर्म छ घामझैँ चहकिलो त्यै सत्य त्यै सुन्दर

डाक्दै आउँछ रात वा दिन सधैँ
हो सृष्टि स्रस्टा त्यही
भर्ने गर्छ विवेक भित्र जसले हो दृष्टि द्रस्टा त्यही
आफ्नै चित्त भरी यथेष्ट छ सखे जालो अरु के छ र ?
छोप्दै आउँछ शत्रुता जग सबै कालो अरु के छ र ?
साथैमा छ अमूल्य सुन्दर सफा माटो अरु के छ र ?
यौटा लक्ष्य चुनेर हिँड्नुसरिको बाटो अरु के छ र ?
गुम्ला इज्जत किन्तु यो सरहको क्यै छैन अर्को डर
सोचौँ नित्य भलो हरेक जनको त्यै सत्य त्यै सुन्दर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।