बुबा : जमुना आचार्य कोइराला ( कविता )

बुबा : जमुना आचार्य कोइराला ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
घाम नउदाउँदै उठ्ने
आकाशको रंग नहेरी
हाम्रो भोलिको उज्यालो खोज्ने नाम

हातमा कडा छाला,
आँखामा अधुरा सपना,
ओठमा मुस्कान बोकेर
दुखाइ लुकाउने साहस

चप्पल च्यातिए पनि
छोराछोरीका लुगा जुत्ता नयाँ होस् भनेर
आफ्ना चाहना बन्द गर्ने कथा

थकानले शरीर चर्किँदा पनि
घरको ढोका टेक्ने बित्तिकै
हासो झिकेर
हामीलाई ढाडस दिने शक्ति

शब्द कम बोल्नुहुन्छ
तर मौनमै
सयौँ शिक्षा दिनुहुन्छ

“मेहनत गर” भन्ने
सानो वाक्यमा
पूरा जीवनको दर्शन
लुकाएर दिनुहुन्छ

हामी रोयौं भने
आँसु देखाउन नजानेर
आँखा अर्कैतिर फर्काउने
मौन माया हो

आकाशजस्तै विशाल
तर बादलले छोपिएको
हृदय बोकेर हिँड्नुहुन्छ

घरको छानो चुहिँदा
पहिले बाल्टी राख्नुहुन्छ,
आफू भिजेर
हामीलाई जोगाउनुहुन्छ

हामी सफल हुँदा
चुपचाप मुस्कुराउनुहुन्छ,
हामी असफल हुँदा
ढुंगाजस्तै अडेस लाग्नुहुन्छ

तपाईंको काँध
हामी उभिने पहिलो धरातल,
तपाईंको बाटो
हामी हिँड्ने पहिलो यात्रा

समयले कपाल सेतै बनाए पनि
तपाईंको माया
अझै कालो, गहिरो र अटल छ

आज हामी ठूला भयौँ,
आफ्नै बाटो हिँड्दैछौँ,
तर थाहा छ बुबा—
हामीभित्र अझै
तपाईंको साहस बाँचेको छ ।

तपाईं भगवान् जस्तै होइन,
भगवान् भन्दा पनि नजिक
र वास्तविक हुनुहुन्छ

नमन छ बुबा,
तपाईंका पसिनाका थोपा–थोपामा
हाम्रो भविष्य उम्रिएको
परिवार समाज र देशको स्वाभिमान झल्किएको छ
अनुभव र सुझाव झाङ्गिएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।