विज्ञापन : शुक्रराज कुँवर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
नर्सले बच्चा ल्याएर उनका हातमा राखिदिइन् ।
“बधाई छ, तपाईँलाई” भनिन् ।
उनले बच्चाको अनुहार नियालिन् । नौ महिना आफ्नो शरीरभित्र धड्किएको मुटु आज पहिलो पटक बाहिर सास फेरिरहेको थियो । आफ्नो छाती छामिन्—स्तन दूधले भरिएका थिए ।
ढोका खुल्यो । डाक्टरसँगै एउटी महिला भित्र प्रवेश गरिन् । सम्झौताअनुसारको बाँकी रकम हातमा थमाउँदै उनले भनिन्, “धन्यवाद” र बच्चा उठाइन् ।
उनको कोख एकाएक खाली भयो । बच्चा समाउने प्रयास गरिन्, तर असफल भइन् । बच्चाले कोमल ओठ चलाउँदै मातृत्व खोजिरहेको थियो ।
डाक्टर छेउमा आए ।सम्झौता–कागजमा अन्तिम हस्ताक्षर गराउँदै उनले भने, “अब तपाईँको दायित्व सकियो ।”
रगत पोतिएको सुत्केरी कपडा सम्हाल्दै उनी उठिन् । ऐना अगाडि उभिँदा मुखमण्डल पहेँलो देखिन्थ्यो । आलै सुत्केरी शरीर बोकेर उनी बाहिर निस्किइन् ।
नजर भित्ताको बोर्डमा ठोक्कियो । काखमा बच्चा बोकेको तस्बिरमुनि लेखिएको थियो—
“मातृत्व…सबैभन्दा पवित्र सम्बन्ध ।”
उनको ओठमा फिक्का हाँसो आयो—
त्यो उनका लागि फगत विज्ञापन थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
