पुसको सन्त्रास : त्रिलोचन आचार्य ( कविता )

पुसको सन्त्रास : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १२।

उठ्यो जालो नौलो नभभरि छरी, पौष महिना
बसे कालो पारी मन मुटु, सबै पर्वत कुना
तुषारोले ढाकी सडक पुल छन् श्वेत रङका
अहो ! खप्ने हामी गरिब कसरी ? यो विषमता ।१।

बन्यो निर्धो जस्तो अति पिलपिले घाम अहिले
बने अग्ला बस्ती पनि विकटका धाम अहिले
बगैँचाका राम्रा कुसुम पनि हाँसो रहित छन्
अहो ! बोक्दै पीडामय दिन पसिस् पौष किन भन् ? ।२।

कहाँ खेतीपाती कृषक घरमै चिल्बिल गरी
बसेका छन् भन्छन् भरसक नहोस् शीत लहरी
बसौँ तापौँ आगो मनुज मनमा छन् भय जहाँ
त्यहीँ ठण्डी राजा बनिकन चढ्यो झन् शिखरमा ।३।

सधैँ बस्थे हाँसी मुसुमुसु, कहाँ छन् हिमचुली ?
झरे भेडा चौँरी पनि तल चिसो टार्नु छ छली
सबैलाई हान्दै झटझट झटारो अति कडा
लिई जाडो सेना, पुष तँ गनिने होस् कि तगडा ? ।४।

बुढापाका डुल्ने चउर पनि रित्तो किन भयो ?
लिँदै कित्ता छुट्टै बहुत पर पानी किन गयो ?
पुरानो भो भन्थे, प्रिय अझ त्यही कोट किन हो ?
लिँदै ऐले सत्ता ढसमस गरी बस्छ पुष यो ? ।५।

चिसो नाच्ने होला बल जफत गर्दै कति यहाँ ?
नभागी यो कालो तिमिर नभको हुन्छ र कहाँ ?
बिदा मागी आफ्नै घर बस नआत्तीकन मुना
दिँदै तातो होला अवतरित यैँ माघ महिना ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।