रास्ट्रीय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीलाई “International Ambedkar Award”

रास्ट्रीय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीलाई “International Ambedkar Award”

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

रास्ट्रीय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीलाई “International Ambedkar Award” प्रदान गरिएको छ।

बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य अकादेमी एवं राजेन्द्र भवन ट्रस्टद्वारा आयोजित ५५औँ राष्ट्रिय विजय दिवस–२०२५ को अवसरमा पुर्कुटीलाई सन् २०२५ को “International Ambedkar Award” प्रदान गरिएको हो।

नयाँ दिल्लीस्थित राजेन्द्र भवनमा सम्पन्न उक्त कार्यक्रममा भारतका पूर्व लोकसभा अध्यक्ष डा. मीरा कुमारको प्रमुख आतिथ्यमा समाजकल्याण मन्त्री, पूर्व केन्द्रीय मन्त्रीहरू, सांसदहरू, राष्ट्रिय स्तरका नेताहरू, सामाजिक अभियन्ताहरू, साहित्यकारहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा उनलाई सो सम्मान प्रदान गरिएको थियो।

सो  ऐतिहासिक समारोहमा नेपालबाट सहभागी भई सम्मान प्राप्त गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई, नेपालका दलित समुदायको प्रतिनिधित्व, आवाज र सम्मान अन्तर्राष्ट्रिय मञ्चमा स्थापित भएको गर्विलो क्षणका रूपमा लिएको  अनुभूति गरेको बताउदै पुर्कुटीले सो गौरवमय मञ्चबाट प्रदान गरिएको सम्मानले दलित समुदायले शताब्दीयौँदेखि भोग्दै आएको पीडा, संघर्ष र निरन्तर योगदानलाई सीमापार स्वीकार गरिएको अनुभूति दिलाएको धारणा राखेका छन।
राष्ट्रिय दलित आयोगको तर्फबाट पुर्कुटीले  प्रस्तुत गरेको  मन्तव्य :
राष्ट्रिय दलित आयोगको तर्फबाट‌ कार्यक्रममा दिएको मन्तव्य:आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न देशबाट सहभागिता जनाउनु भएका सम्माननीय प्रतिनिधिहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू—राष्ट्रिय दलित आयोगको तर्फबाट सबैप्रति हार्दिक नमन गर्दै गहिरो सम्मान व्यक्त गर्दछु।
“बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य अकादेमी”द्वारा आयोजित यस राष्ट्रिय विजय दिवसमा सहभागी हुन पाउनु केवल मेरो व्यक्तिगत गौरव मात्र नभई, सम्पूर्ण नेपाली दलित समुदाय र राष्ट्रिय दलित आयोगका लागि समेत उच्च सम्मानको विषय हो।
यो सम्मेलन कुनै औपचारिक जमघट मात्र होइन, दलित समुदायको अधिकार, पहिचान, न्याय र समानताका लागि भइरहेको ऐतिहासिक संघर्षको एक महत्वपूर्ण कोसेढुङ्गा हो।
नेपाल, भारत लगायत समग्र दक्षिण एसियाली मुलुकमा दलित समुदायले शताब्दीयौँदेखि भोग्दै आएको जातीय अत्याचार, सामाजिक बहिष्कार, आर्थिक शोषण र विभिन्न प्रकारका हिंसाहरूका स्वरूप एकअर्कासँग अत्यन्त मिल्दोजुल्दो छन्। तर आज यो पीडा केवल मौन इतिहासमा सीमित छैन; यो संगठित प्रतिरोध, सामूहिक आवाज र सामाजिक रूपान्तरणको सशक्त अभियानमा परिणत भइसकेको छ।
हाम्रो साझा यथार्थ स्पष्ट छ—आज पनि छुवाछुत, सामाजिक तथा आर्थिक बहिष्कार, अवसरबाट वञ्चितीकरण, हिंसा, शोषण र अमानवीय व्यवहार विद्यमान छन्। दलित समुदायमाथिको अन्याय कुनै एक देशको समस्या मात्र होइन; यो सम्पूर्ण मानवता र मानव मूल्यको साझा चुनौती हो।
यस सन्दर्भमा नेपाल सरकारले महत्वपूर्ण कानुनी प्रगति गरेको छ। नेपालको संविधान २०७२ ले जातीय छुवाछुतको अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता गरेको छ, समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ, र जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर तथा सजाय) ऐन, २०६८ मार्फत छुवाछुतलाई गम्भीर आपराधिक कृत्यका रूपमा परिभाषित गरेको छ। साथै, राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गका रूपमा स्थापना गरिएको छ।
राष्ट्रिय दलित आयोगले पीडितका उजुरी दर्ता, अनुगमन तथा अनुसन्धान, नीति सुधारका सिफारिस, तथा स्थानीय तह र न्यायिक संयन्त्रसँग समन्वय गर्दै निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। तथापि, यथार्थ अझै चुनौतीपूर्ण नै छ। आर्थिक असमानता कायमै छ, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच सीमित छ, दलित महिलाहरू दोहोरो उत्पीडनको सिकार भइरहेका छन्, र दक्षिण एसियामा मानव बेचबिखन, श्रम शोषण तथा भेदभाव अझै गम्भीर समस्याका रूपमा विद्यमान छन्।
त्यसैले यी सबै समस्याको समाधानका लागि हामी सबै मिलेर साझा, संगठित र दृढ यात्रा अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो भन्ने राष्ट्रिय दलित आयोगको ठम्याइ छ।
भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धसँगै दलित समुदायबीचको ऐक्यबद्धता पनि गहिरो र दीर्घकालीन रहेको छ। भारतको समानता र न्यायको आन्दोलन होस् वा नेपालमा २०६२/६३ को लोकतान्त्रिक आन्दोलन—यी सबैले दलित आवाजलाई अझ सशक्त बनाएका छन्।
आजको सम्मेलनले विचार, अनुभव, नीति तथा सफल अभ्यासहरूको आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। हामी दृढ रूपमा विश्वास गर्दछौँ—एकअर्काबाट सिकेर मात्र दक्षिण एसियाली दलित आन्दोलनलाई क्षेत्रीय स्तरबाट विश्वव्यापी सशक्त आन्दोलनमा रूपान्तरण गर्न सकिन्छ।
सांस्कृतिक तथा साहित्यिक आन्दोलनको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ। बाबू जगजीवन रामजस्ता महान् व्यक्तित्व केवल राजनीतिक नेता मात्र होइनन्, उनी सामाजिक र सांस्कृतिक चेतनाका अमिट प्रेरणास्रोत हुन्। साहित्य, कविता, संगीत, नाटक र कला सधैँ उत्पीडनविरुद्ध चेतना जगाउने प्रभावकारी माध्यम बनेका छन्।
नेपालमा पनि दलित युवाहरू साहित्य, कला, मिडिया र सामाजिक अभियानमार्फत आफ्नो पहिचान र संघर्षलाई सशक्त रूपमा अभिव्यक्त गरिरहेका छन्, जसले हाम्रो आन्दोलनलाई अझ मानवीय, चेतनायुक्त र सशक्त बनाइरहेको छ।
यस सन्दर्भमा राष्ट्रिय दलित आयोगको तर्फबाट म तीनवटा स्पष्ट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु—
पहिलो, कानुनी तथा न्यायिक प्रणालीलाई अझ प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ।
दोस्रो, दलितमाथि हुने हिंसा, छुवाछुत, शोषण र भेदभावप्रति शून्य सहनशीलता अपनाइनेछ र पीडितमैत्री न्याय प्रणालीलाई अझ सुदृढ बनाइनेछ।
तेस्रो, समावेशी, सम्मानजनक र बराबरीमा आधारित समाज निर्माणका लागि आयोग सधैँ सक्रिय रहनेछ।
साथै, दक्षिण एसियाली दलित ऐक्यबद्धतालाई अझ बलियो बनाउन भारत, श्रीलंका, बंगलादेश लगायतका देशहरूसँग सहकार्य, अध्ययन तथा अनुभव आदान–प्रदानलाई विस्तार गर्नु आवश्यक छ। विशेष गरी दलित महिला, अपाङ्ग, बालबालिका तथा युवाहरूको शिक्षा, रोजगारी, सीप विकास र नेतृत्व क्षमतामा विशेष प्राथमिकता दिनु अनिवार्य छ।
अन्त्यमा,
दलित समुदायको संघर्ष अधिकार प्राप्तिको मात्र होइन—यो मानव मर्यादा, अस्तित्व, सम्मान र समान अवसरको लडाइँ हो। आजको यो राष्ट्रिय विजय दिवसले भारत, नेपाल र विश्वभरका दलित समुदायलाई जोड्ने सशक्त पुल बनोस् र हाम्रो भविष्यलाई अझ उज्यालो बनाओस् भन्ने हार्दिक कामना गर्दछु।
राष्ट्रिय दलित आयोगको तर्फबाट यस दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूप्रति गहिरो सम्मानसहित धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद।
तपाइँको प्रतिक्रिया ।