प्यारो भकारो : छायाँदत्त न्यौपाने (कविता)

प्यारो भकारो :  छायाँदत्त न्यौपाने (कविता)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

अहङ्कारी आग्लोमा उभिएर
अग्लिएको मान्छे म
वरिपरि हेर्नु छैन मैले
मेरा आँखा पर छन् सुदूर पर
मेरा घरले कति घरआँगनमा ओस भ¥यो
हेर्नु बुझ्नु छैन मैले

मेरा गोरुको बारै टक्का
मलाई नटेर्नेले पाउँछ धक्का
मुठीमा माटो उठाउनु छैन मैले
मलाई उभ्याउनु छ अग्लो खम्बा
टाँस्नु छ देखिने गरी अनुहार
कसले के भन्छ सुन्नु छैन मैले

मलाई गर्नुछ मेरो काम
गर्छु मैले जे भन्छ मनले
किन खोज्नु मैले कहाँ छ जीवन ?
कति उज्यालो छ झोपडी ?
नाप्नु छैन मैले

म आफै रमाउने हो महलमा
खन्नु खोस्रनु छैन माटो
बिउ रोप्ने रहर होइन मेरो
के खाँचो मलाई उत्पादन बढाउन
खानु छैन मैले मेरै बारीको साग
आयातमा गर्व गर्ने स्वाभिमानी
मान्छे म

हात थापेर खान्छु
थापेकै खुराकले मोटाउँछु
लाज मान्नु छैन मैले
म निर्धक्क माग्न सक्छु
हो नि मागमै त कमाइ छ
फेरि चुनाव पनि जित्नु छ मैले
म देश बनाउने मान्छे

कसैले साँढे देख्छ मलाई
भकारो खाली गर भन्छ
म त्यसका आँखाको शल्यक्रिया गराउँछु
तर मलमूत्र जति थुप्रिए पनि
कति प्यारो छ मलाई
भकारो किलो र दाम्लो
भकारोमै रमाउँछु म

सुन हे ! सुन फेरि सुन, राम्ररी सुन
मेरा प्रिय आसेपासे दयँराले सुन
हतार नगर तिमीहरू !
आर्यघाटले सलामी नपाई
सफा हुँदैन भकारो
ढुक्क होऊ मित्रहरू
म मेरै प्यारो भकारोमा खुसी छु ! –२

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।