बाटो कार्तिकले सुवासित गरोस् : त्रिलोचन आचार्य

बाटो कार्तिकले सुवासित गरोस् :  त्रिलोचन आचार्य

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

१. आए कार्तिकका सफा दिनहरु उत्साह जोडीकन
हाँसे मख्ख बनेर शीत्तल दिँदै रारा र रानी वन
बारी खेत सबै पहेँलपुरभै छर्दै गए रोशनी
प्यारो घाम हुँदै गयो, र सजिए पाखा पखेरा पनि

२. पर्वै पर्व भरी झुमेर सकिए माया गरी आश्विन
वर्षाका दिनको हिसाब गुनको सक्ने भयौँ बिर्सन
आयो कात्तिक संलिएर खहरे सारा हटाई झरी
बाँकी नै छ हराभरा सब शरद् भन्दैछ गोदावरी

३. घुम्टो खोलिदिएछ यो समयले हाँस्छन् रमाई चुली
झर्ना स्वच्छ भएर ताल सुरमा नाच्छन् रमाऊँ डुली
नाच्दै जंगलमा छरे मयुरले संगीत सम्मोहक
धर्तीले कसरी गरेछ रचना लौ हेर यो कार्तिक

४. पानी दर्दर दर्कँदा पनि बसेँ पाली नटालीकन
खेतीमा जब पुग्दथे  म रविले लाली नहालीकन
त्यो सारा दुख बिर्सिदैछु दुनियाँ हेर्छन् नियालीकन
प्यारा कार्तिक सुम्पिदे हृदयमा उल्लासको चुम्बन

५. हाँस्दैछन् सुकुमार पर्वतहरु हाँस्छन् चरी चिर्बिर
हाँस्छन् बादल तैरिँदै सरलभै हावा घुम्यो सिर्सिर
सेता दन्त सजाउँदै हिमचुली हाँस्छन् रमाईकन
मेरो कार्तिक हो महान् बन खुसी भन्दैछ धर्ती झन ।

६. खोस्दै मेलमिलापको लय गयो दोखी भदौरे झरी
फाटेका मनका कुनातिर कठै नाचेन रानी चरी
होला हार्दिक राजनीति जहिले पाटो चुनी कान्तिको
बाटो कार्तिकले सुवासित गरोस् भाका पढी शान्तिको

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।