हेम पौड्याल र सौन्दर्य : घनबहादुर थापा (कविता )

हेम पौड्याल र सौन्दर्य : घनबहादुर थापा (कविता )

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

बिहानै मिर्मिरेमा आँखा खोल्दा
जब वरिपरि चरा चिरबिराउँछन्
अनायासै मस्तिष्कमा झङ्कार आउँछ
अन्तरमनमा चराचित्रकलाको स्मृति सलबलाउँछ
अनि सम्झन्छु, हेम पौड्याल र उनको चरा मोह !

जब वातावरण र चित्रकलाको सङ्गम हुन्छ
प्रकृतिमा मिहिनेत र इमान्दारिताको फल फल्छ
सप्तरङ्गी फाँट चित्रकारिताको सौन्दर्यले भरिन्छ
सम्पूर्ण भूगोलभरि गौरव र गरिमा फैलिन्छ
अनि सम्झन्छु, हेम पौड्याल र कलाको सौन्दर्य ।

जब गुरु शिष्यसामु कुची टक्र्याउँछन्
परिश्रम र सकारात्मक सोचको शिक्षा फलाउँछन्
श्रद्धा, लगाव र स्नेहका कर्णप्रीय गीत गुञ्जाउँछन्
प्रतिभा, जाँगर, सीप र खुबीका कथा कहन्छन्
अनि सम्झन्छु, यस्तै योगदानका पितामह हेम पौड्याल ।

जब सुन्दर, सुखी, समृद्ध परिवार देखिन्छ
घरमा असल कर्मका खम्बाहरू ठडिन्छन्
कर्मठ हातहरू कला र सिर्जना गोड्छन्
कलाको अपूर्व बगैँचा सजिन्छ

सम्झन्छु, कलाका दुर्लभ नायक
हेम पौड्याल र कला सौन्दर्य ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।