मनको लगाम ? त्रिलोचन आचार्य (कविता )

मनको लगाम ?  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

१. जाँदै छ यो मन कतातिर बारबार
फर्कन्छ तैपनि भएर कतै सुधार
कैले सुकर्मतिर लाग्छ बनेर ज्ञानी
भड्कन्छ किन्तु कहिले पर पुग्छु ठानी
२. गर्दैछु काम मन छैन कता हरायो
बाधिन्न कत्ति भय छैन हदै गरायो
आफू बसेर धरती नभ डुल्न थाल्छ
मान्छे यतै तर हिमाल छिचोल्न थाल्छ
३. हात्ती र बाघ बरु थुन्न सकिन्छ आँटे
बाढी अडिन्छ बरु जब्बर बाँध राखे
हार्छन् अनेक मन कत्ति हरेश खान्न
सक्दैन किन्तु मनले परतन्त्र धान्न
४. बूढो भए पनि उही छ जवानजस्तो
रातै परे पनि विचार बिहानजस्तो
कैले मिलाप कहिले झगडा छ भारी
यौटा शरीर कति रंग हुने सवारी
५. राम्रो भन्यो पछि उही हुनसक्छ पत्रु
आफ्नो भन्यो पछि उही हुनसक्छ शत्रु
गर्दै छ नाटक उही मन अड्डिँदैन
देखिन्छ जे, मन त्यही कहिल्यै हुँदैन
६. यो राज्यको परिधिमा मन बाँधिँदैन
लौ खाँद जेल कहिल्यै मन खाँदिँदैन
दौडन्छ तेज गतिले न त हार मान्छ
हावा बनेर मन झन् पर पुग्छु भन्छ
७. लौ लेख्नु भन्छ जब थाल्छु अन्यत्र भाग्छ
खै बस्न हुन्न क्षणमै पनि उठ्छ जाग्छ
हैरान पार्छ यसले अधुरो छ काम
जान्नेहरु भनन यो मनको लगाम ?
–– – –– –
८. माला करोड मनको कति भव्य हुन्थ्यो
एकाम्य भैकन उठे कति दिव्य हुन्थ्यो
हुन्थ्यो विकास सजिलै भय त्रास भाग्थ्यो
संसारका सुख भए जति लाम लाग्थ्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।