बुमर्याङ : महेन्द्र नेउपाने (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
“के भयो ?” अस्पतालको ईमरजन्सी कक्षमा चिकित्सकले सोधे ।
“एक महिनदेखि झोक्राउन थाल्नु भएको थियो । अहिले त फेन्ट नै हुनभयो ।” मैले छिमेकीको नाताले बुझेको कुरा बताएँ ।
“एक महिना अगाडि के भएको थियो ? कुनै घटना ?” डाक्टरले प्रश्न गरे ।
मैले भने, “सासाना कुरामा उहाँ मेरी आमासँग झगडा गरिरहनु हुन्थ्यो । एक महिना अगाडि हाम्रो घरको फोहोर पानी उहाँको घरमा गयो भनेर तथानाम गाली गर्नुभयो । हामी हाँसिरह्यौँ । पानी नजाने बनाएँ ।सायद हाम्रो हाँसो उहाँलाई झन अप्ठेरो भएछ क्यार टुनामुना गरेर हाम्रो परिवारलाई दुःख दिन्छु भन्नुहुन्थ्यो । हामी यस्ता कुरामा विश्वास नगरि फेरि पनि हाँसीरह्यौँ । उहाँले कालो कपडामा फलाम मोडेर कालो धागोले बाँधेर हाम्रो घरतर्फ हुत्याउन भयो । मैले टिपेँ र डष्टविनमा फालेँ । केही दिन चुप हुनुभयो । फेरि कालो कुखुरा काट्नुभयो र त्यसको रगत हाम्रो घरतर्फ छर्कनु भयो । हाम्रो घर परिवारमा कुनै अनिष्ट नआएको र उहाँको हरप्रयास असफल भएकोले उहाँ झोक्राउन थाल्नुभएको थियो । झोक्राउदा झोक्राउदै आज साँझ फेन्ट नै हुनु भएछ ।”
डाक्टरले परिक्षण पश्चात् भने, “उहाँलाई केही भएको छैन । एउटा स्लाईन पानी चढाएर पठाइदिन्छु । बरु रसिलो पोषिलो खान चै खानु भन्नू है ?”
“उहाँले बार्नु पर्ने चै के के हो ?” मैले नम्र भावमा सोधेँ ।
डाक्टर साबले फ्याट्टै भन्नुभयो, “अन्धविश्वास र तान्त्रिक कुप्रथा ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक