शान्ति दिने लुम्बिनीमै अशान्ति, लुविकोषमा तालाबन्दी यथावत्, पर्यटक आगमन शून्य प्रायः

शान्ति दिने लुम्बिनीमै अशान्ति, लुविकोषमा तालाबन्दी यथावत्, पर्यटक आगमन शून्य प्रायः

दीपक घिमिरे

लुम्बिनी (रुपन्देही), ११ असोज । विश्व शान्तिको मुहान भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित तराईका जिल्लाहरु विगत डेढ महिनादेखि बन्द र हडतालले निकै अशान्त छ ।

विश्वका विभिन्न मुलुकबाट अशान्त मनलाई शान्त बनाउन लुम्बिनी आउने हजारौँ पर्यटक लुम्बिनी पनि अशान्त बनेपछि चाहेर पनि यहाँ आउन सकेका छैनन् ।

Lumbini
मधेसवादी दलहरुले सीमाङ्कनको विरोध गर्दै तराईका जिल्लाहरुलाई बन्द र हडतालको चपेटामा पारेपछि पर्यटक आवागमनको केन्द्रबिन्दु मानिएको लुम्बिनी विगत डेढ महिनादेखि ठप्प रहेको छ । हरेक महिना विश्वका विभिन्न मुलुकका हजाराँै पर्यटक लुम्बिनीमा आएर दर्शन तथा अवलोकनका लागि आउने गरेकामा अहिले भने फाट्टफुट्ट रुपमा मात्रै विदेशी पर्यटक लुम्बिनीमा आउने गरेका छन् ।

लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर मधेस आन्दोलनलाई सहर केन्द्रित हुन नदिए पनि लुम्बिनीसम्म पुग्न निकै कठिनाइ छ आमनेपाली तथा पर्यटकलाई । तराई मधेस आन्दोलनको चपेटामा परेपछि यसको मार लुम्बिनी विकास कोषभित्र पनि परेको छ ।

आन्दोलनकारीका कारण लुम्बिनीमा बसेर सहज रुपमा काम गर्ने वातावरण नभएपछि विगत एक महिनादेखि लुम्बिनी विकास कोषमा कार्यरत पदाधिकारी तथा आमकर्मचारी लुम्बिनीसम्म पुग्न नसकेको कोषका पदाधिकारीहरुले जनाएका छन् । पछिल्लो समय त कोषको प्रधान कार्यालय लुम्बिनीमा आन्दोलनकारीले मूलढोकामै ताला लगाइदिएपछि लुम्बिनी पूर्ण रुपमा ठप्प बनेको कोषका पदाधिकारीको भनाइ छ । ती पदाधिकारीले कोषको प्रधान कार्यालय नटेकेको पनि महिना दिनभन्दा बढी भइसक्यो ।

कोषका सदस्य सचिव अजितमान तामाङका अनुसार विश्व शान्तिको मुहान लुम्बिनी पनि डेढ महिनादेखिको बन्द र हडतालका कारण अहिले अशान्त बनेको छ । विभिन्न माग राखेर गरिएको आन्दोलनका कारण युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा आएको कमीले सुनसान जस्तै बनेको त छ नै, महिनाँैदेखिको तालाबन्दीले कोष पनि बिरामी जस्तै देखिएको छ । पटक पटक राजनीतिक नियुक्तिसँग हुने कोष पदाधिकारीहरुको फेरबदलले बिरामी जस्तै बन्ने लुम्बिनी अहिले आन्दोलनकारीको निसाना बनिरहेको छ ।

कार्यालयमा गएर सहज रुपमा काम गर्न सक्ने अवस्था नभएका कारण कोषका पदाधिकारीहरुले काठमाडौँस्थित सम्पर्क कार्यालयबाट काम गर्ने गरेको सदस्य सचिव तामाङको भनाइ छ । उहाँका अनुसार कोषको प्रधान कार्यालयमा लगाइएको तालाका कारण लुम्बिनीको सरसफाइ र आन्तरिक काममा समेत समस्या आएको छ । बन्दको मौका छोपेर कोषभित्रको जङ्गलबाट काठसमेत चोरी भएको घटना बाहिर आएको छ ।

सरकारले लुम्बिनीजस्तो पवित्र स्थानमा सहज रुपमा जाने व्यवस्था मिलाउनुपर्नेमा आमनागरिकले जोड दिएका छन् । लुम्बिनी दर्शनका लागि विश्वका धेरै मुलुकबाट आउने पर्यटक लुम्बिनीसम्म पुग्न नसक्दा नेपाल र नेपालीको शान विश्वमाझ खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री सुशील कोइरालालाई भैरहवामा भएको भेटमा पनि सरकारले लुम्बिनीसम्म जान सक्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । विश्व शान्तिको मुहान लुम्बिनीसम्म पनि पुग्न नसक्ने स्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकार आन्दोलनरत पक्षसँग वार्तामा बसेर लुम्बिनीलाई खुलाउनुपर्ने बताउनुभयो ।

लगातारको बन्द हडताल र कोषमा लागेको तालाबन्दीका कारण यस पटकको पर्यटन दिवस पनि मनाउन नसकिएको कोषले जनाएको छ । लुम्बिनी तथा सिद्धार्थनगरमा प्रत्येक वर्ष पर्यटन दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आइरहेको अवस्थामा बन्दका कारण यस क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न नसकिएकामा पर्यटन व्यवसायी खिन्न छन् ।

बन्दका कारण तीव्र गतिमा अगाडि बढेको लुम्बिनी गुरुयोजनाको काम पनि अहिले ठप्प भएको छ । गुरुयोजनाको खाकाअनुसार ८५ प्रतिशत काम सम्पन्न भइसकेको लुम्बिनी गुरुयोजनाको काम ठप्प हुँदा करोडाँैको नोक्सानी हुने देखिएको छ भने विकास निर्माणको काम निकै पछाडि धकेलिने अवस्थामा पुगेको छ । गुरुयोजनाले उल्लेख गरेअनुसार पवित्र इलाका, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भई आगामी दुई वर्षभित्र गुरुयोजनाको काम सम्पन्न हुने कोषले बताइरहेका बेला भएको लामो बन्दका कारण गुरुयोजना पूरा हुने समयावधि पनि पछाडि धकेलिने निश्चित छ ।

लुम्बिनी ग्राममा निर्माणाधीन कोषको प्रशासनिक भवन, पर्यटक सूचना केन्द्र, सञ्चालनमा रहेको सङ्ग्रहालयको शैलीका आठवटा भवनको निर्माण कार्य प्रभावित बनेको कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो ।

कोषले लुम्बिनीको धरोहरका रुपमा लिएका भवनको निर्माण कार्य पछाडि पर्दा विश्वमाझ लुम्बिनीको साख नै गिर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको कोषका पदाधिकारीहरु बताउँछन् ।

नयाँ लुम्बिनी ग्रामभित्र ठूल्ठूला निर्माण कार्य धमाधम भइरहेका थिए । गुरुयोजनाअनुसार रु १७ करोडको लागतमा प्रशासनिक भवनको सबै निर्माण कार्य आगामी मङ्सिर महिनासम्म सम्पन्न गरी प्रशासनिक भवनमा सर्ने योजना थियो । त्यही गतिमा काम अगाडि बढाइएको उक्त भवनको ८५ प्रतिशत निर्माण काम भइसके पनि विगत डेढ महिनादेखिको बन्दका कारण निर्माण कार्य ठप्प हुन पुग्दा नयाँ भवनमा सर्ने कोषको सपना पनि निकै पर सर्ने देखिएको वरिष्ठ इन्जिनियर भट्टराईले जानकारी दिनुभयो ।

पूर्वी विहार क्षेत्रमा १३ वटा थेरवादी मुलुकले गरिरहेको आकर्षक विहारहरुको निर्माण कार्य पनि रोकिएको छ । त्यसैगरी, पश्चिमी विहार क्षेत्रमा रहेका विहार निर्माणका काम पनि प्रभावित बनेको छ ।

उनन्तीसमध्ये २६ वटा मुलुकले विहार निर्माण गरिरहेका थिए । विहार क्षेत्रमा केन्द्रीय नहरको दायाँबायाँ र बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न पाँचवटा शौचालय बनाउने काम पनि प्रभावित बनेको छ । त्यसैगरी बसपार्कको शौचालयको निर्माण कार्य पनि रोकिएको उहाँको भनाइ छ । कोषले सुरु गरेको गुरुयोजना क्षेत्रभित्र नौवटा ढोकामा आधुनिक सुरक्षा पोष्टहरुको निर्माण कार्य
पनि प्रभावित बनेको छ ।

बन्द रहेको कोषको प्रधान कार्यालय खोल्ने विषयमा स्थानीय प्रशासनले खासै चासो दिन सकेको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले लुम्बिनी विकास कोष स्वायत्त संस्था भएको बताउँदै ताला खोल्न त्यहाँको आन्तरिक सुरक्षा निकाय र कोषका पदाधिकारीले औपचारिक रुपमा पत्रमार्फत जानकारी नगराउँदासम्म आफूहरुले ताला खोल्न नसक्ने जानकारी दिनुुभयो । ताला खोल्न आग्रह आए तत्काल गएर ताला खोलिदिन र आवश्यक सुरक्षा जनशक्ति पनि थप गरेर काम अगाडि बढाउन सघाउन आफूहरु तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।