लाटीकी छोरी : ज्ञानेन्द्र भट्टराई (कथा)

लाटीकी छोरी : ज्ञानेन्द्र भट्टराई (कथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

धेरैपछि जम्का भेट भयो आमा र म बजारमा हिँड्दै गर्दा बुढी भैसकेकी लाटीसँग । ठुलो ध्वाद्रो स्वरमा …दिइ…इ…पैंं…चा… भन्दै उसको हातमा भएको बीसका र दशका नोट देखाउदै पैसा मागी लाटीले । आमाले पनि हातमा भएको चानचुनेबाट एउटा दशको नोट उसका हातमा राखिदिनुभो । अनि लाटी नमस्ते गर्दै अरु मान्छेहरू भएतिर गई । बिचरा लाटी बुढी भैछ, छाला पनि चाउरी परेछन । दुब्लाएर खर्ल्याक खुर्लुक भएकी । अनि उसलाई एकनासले हेरे र मनमनै भने यो लाटी त पहिला यस्तो थिईन, दह्री खाईलाग्दी, मस्सुर खालकी थिई, कठै आज …….झण्डै साठी पनि पुग्न लागी क्यार…….!
खोलो वारि बजार अनि अलिक बाक्लो बस्ती । खोलो पारी खेतका गराहरू र धान फल्ने फाँटहरू, तर फ्याट्रटफुट्रट पातला घर । “त्यसैमा बस्थ्यौँ हामी खरले छाएको टाढे घर, रुखको सिँगो लामो मुढोमा खुटकिला खोपेर बनाएको लिस्नो” । पाहाड धुपु बितलबबाट आएर एक जना दाहाल थर भएका व्यक्तिसँगकिनेको जग्गा र त्यो घर । तर त्यो स्थान प्रेत बस्ने प्रेतात्मा भएको जस्तो । केही टाढाको ठुलो पिपलको रुख र अलिक वरपटि बयरको रुखहरू अनि झाडीहरू । “त्यो पिपलको रुखमा रात परेपछि उज्यालो बत्ती बल्थ्यो र बयरको रुख वरिपरि त्यो बत्तिको उज्यालो आउथ्यो, केही समयपछि जनावरको आवाज निस्कन्थ्यो तथा केही दौडिएको जस्तो गथ्र्याे”, भन्नुहुन्थ्यो आमाले । हामी साना थियौ, कहिले काही त्यो उज्यालो देखेजस्तो लाग्छ । तर दिउँसोको गाई बाख्रा हेर्ने खेल्ने दौडिने गर्दा गलेर लखतरान हुने र आमाले पकाई दिएको भात खाएर ओछ्यानमा लडिहाल्ने ।
एक साँझ त आमाले देख्नु भयो रे ‘त्यो पिपलको रुख तिरबाट साना सुँगुरका पाठापाठी जस्ता देखिने चार पाँच वटा जन्तु चुँ–चुँ गर्दै दौडिएर आएछन् र घर मुनी गई वस्तु बाध्ने तिर भित्र छिरे अरे ।’ त्यहादेखि केही पनि कुराले साथ दिएन, न घरको शान्ति न गाइर्, बाख्रा, पाठा सप्रने, बा–आमाको झगडा र बाको अविचलित सोच र स्वभाव । त्यसै क्रममा एक मध्य रात बा–आमाकै झगडा र बाको सुनियोजित आक्रमणले आमाको झण्डै ज्यान गयो । त्यसै रात घर पश्चिमको सानो नागबेली परेर बग्ने घ्रयाकल्कट्रटा खोला त¥यौ । पानी कम थियो ।सबै मेटेका नै मेटेकाले भरिएको तर सापको असाध्यै डर, हिउदको समय भएर होला निस्फिक््रmी नै दौडियौ । आमाले हामीलाई ज¥याक, जुरुक्कै उठाएर त्यो खोल्सो तराउनु भयो मध्य रातमा र काइला दाहाल बाको घरमा लगेर सुताउनु भयो ।
केहिदिन हाम्रो मावली घरको बसाई भयो अनि त्यस पछि बजार छेउको एक भट्रटराई पटवारी बाको काठको घरमा डेरामा बस्नु प¥यो । मावल घर, डेरा र विद्यालयको नजिकैको दुरीमा नै हो मैले एउटी वैशको लालीले उन्मत्त भएकी त्यो लाटी भुजेल्नीलाई देखेको । सानो हुँदा हामी सधै जिस्काउथ्यौ ‘ए लाटी लाटी ओई लाटी भन्दै …’ कतिपयले यौनिकता र यौवनका संकेतात्मक शब्द र संकेतहरूले जिस्काउथे त्यो लाटीलाई । लाटी पनि लजाउथी र उन्मत्त र निस्फिक्रीको हाँसो हासेर उडाईदिन्थी । मैले थाहा पाउदा लाटी त्यस्तै बीसको वारि पारि हुनुपर्छ । तर के गर्नु प्रष्ट बोल्न सक्दिनथी । ठूलो धोद्रो आवाज निकाल्थी र एकतमासले कडके आँखा पारेर हास्थी, लाटी ।
लाटीको उमेर बढेसँगै विहेका कुराहरू गरे वा विहे र जोडाजोडीको सांकेतिक कुराहरू अरुले नै गर्दा ऊ लाजले भुतुक्कै हुन्थी । अनि केही बेर पछि एकोहोरो हाँस्थी तर कहिले काही उ भन्दा सानाले जिस्काउदा लौरो लिएर खेदाउथी र भेटिहाली भने एकदुई ड्याम बसाल्थी ।
लाटी गोरी थिई ।उसकी एउटी आमा थिई सानी चेढाकी र एउटा दाजु र एउटा भाई थिए रिट्ठे र सेरे भन्ने रिट्ठे बोलाउने नाम हो तर नागरिकतामा अर्कै … भुजेल हो । ठूला तिघ्रा गरेको बेजोड काम गर्ने गथ्र्याै, आली लाउने, दाउरा चिर्ने, बिउ काड्ने अनि बेलुका भएपछि मस्त भएर लोकल रक्सीले टिल्ल हुन्थ्यो । बेलाबेला उसकी बुढी आमा अनि लाटीलाई पनि बेजोडले कुट्थ्यो, तथानाम गाली पनि गथ्र्याे… । सेरे पनि त्यस्तै थियो बल र रक्सीमा तर अलिक टाठोबाठो खालको ।
लाटी र लाटीकी आमा हाम्रो मावल घरमा र उसका घरमा चामल केलाउने, खेतीमा धान रोप्ने गोड्ने, काट्ने यस्तै यस्तै काम गर्थे र मनग्य आर्जन पनि गर्थे तर दुवैका बाउ र बुढा नभएकाले होला सानो झुप्रो घर लाटीले बेरेको, माटोले लिपेको अनि खरले छाएको हुन्थ्यो । सार्वजनिक जग्गामा बसेका थिए । गाउँ पञ्च्यातको भवन छेउमा धेरै लामो समयदेखि तर पछि थाहा भो त्यो करिव दुई कठा जति जमिन पनि सार्वजनिक विद्यालयको नाममा दर्ता गरेछन् । र सधै  भूमि विहिन भए ती पुराना स्थानीयबासी भए पनि ।
त्यस्तै दिनचर्यामा तिनीहरूको खासमा आमा छोरी र दाजु भाउजूहरूको जिन्दगी पिडा, विपन्नता, झगडा, दुःख, अभाव भएर नै वितिरहेको थियो । हामी अलिक ठुला हुदै हुर्कदै थियौँ । अरु कुराहरू बुझ्ने हुदै थियौँ । लाटीकी आमा बेलाबेला भन्ने गर्थिन ‘यो लाटी छे यसको बिहे गरिदिन पाए हुन्थ्यो अनि म बुढी पनि ढुक्कले मर्ने थिए । यसलाई कसले बिहे गर्दिन्छ र यस्तै लाटो भए नि हुने …’ यस्तै यस्तै कुराहरू गर्थिन … म मरेसी दाजु भाउजुले काममा बेस्सरी दलछन् अनि यसको बिजोग हुन्छ भन्दै कहिले भक्कानिन्थिन, आँखाभरि आसु निकालेर बिलौना नि गर्थिन् । कस्ती अभागी रै छे यो लाटी भएर जन्मि अब कसरी जिन्दगि चलाउ छे ! उसकी आमा रोएकी देखेर उ पनि रुन्थि अनि एकछिनमा आमालाई कराउन थाल्थीे । छाती पिटेर आफ्नै ठूलो स्वरमा बर्बराउथी लाटी, पाखुरा देखाउथी, अनि गरी खान सक्छु भन्छे भनेर आमा चै अथ्र्याउथिन । आमाले नरोउ भन्छे भनेर अरु वरिपरि बस्ने मान्छेहरूनि रुन्थे । लाटीकी आमा भन्दै गर्थी एकोहोरोसँग टोलाएर– ‘यसको बाउ नी चाडै म¥यो, धेरै रक्सी खाएर मुटु फुटेछ, म केही जान्दिन, यसले चाहि यो चोलामा नपाउने दुःख पाउने भई ।’
दिन, हप्ता, महिना यसरी नै फन्को मर्दै गयो । अचानक एक दिन आमाले सुनाउनु भयो बेलुका तिर जस्तो लाग्छ । लाटी चामल केलाउन आउथी, धान, मकै गोडन पनि आउथी । अनि के भयो त लाटीलाई’ मैले सोधें । “लाटी बुढाको घर जाने भैछे, आज उता गौरादह पश्चिम ठकठके तिरको एउटा लाटो आएर फुलमाला गरेर लाटीलाई लिएर गएछ” । मैले नि देखें लाटो त हेर्दा कस्तो राम्रो लाटी जस्तै गोरो वर्णको ढाका टोपी लगाएको दौरा सुरुवाल जुत्ता लगाएको लाटो नै हैन जस्तो । कस्तो बाठो देखिने । नभन्दै होरैछ ।बोली लाटो भए नि । केही पछि लाटीलाई दुलन फर्काउन लिएर आउदा । साह्रै नै राम्रो सुकिलो कपडा पनि चटक्क मिलाएर लगाएको हेर्दा टाठो देखिने र पैसाको हिसाव किताब सबै जान्ने व्यवहार सबै जानेको … ।
गाउँका सबैले भने पनि “यो लाटी त कति भाग्यमानी रै छै, कति राम्रो बाठो खालको चलाख राम्रो इमान्दार बुढो पो पाइछ ।” लाटीकी आमा त्यसै त्यसै दंग, खुसीले गद्गद् भइन्, सबैलाई सुनाउदै हिडिन् पनि – “मेरी लाटीले साह्ै राम्रो असल बुढो भेटी बोली लाटो भए पनि अरु कुरामा अति नै चलाख, लाटी पनि खुसी छे ।” लाटी एकोहोरो हाँसिरहन्थी । ध्वाद्रो स्वर निकालेर । तर त्यो हाँसोमा उन्माद, यौवन, मादकता सबै मिश्रित थियो । यसैगरी लाटी बुढाको घरमा बस्न थाली । अर्कैको घरमा काम गर्ने भएनि दुवै उत्पात काम गर्थे । लाटीको खुसी विछट्टै धेरै हुनुमा निकै उमेर गुज्रेपछि झण्डै तीस बत्तीस काटेको हुनुपर्छ त्यतिखेर र पनि बुढो भेटाई…असाध्यै धेरै खुसी छे लाटी…।
केही समयपछि लाटीकी आमाले फेरि असाध्यै खुसीको कुरा सुनाइन्,  “मेरी छोरी लाटी दुई जिउकी भएकी छे, म त लाटीकी आमा मात्रै हैन हजुरआमा पनि हुने भए हिस्सससस…स ..स…स…” असाध्यै खुसीका भाव थिए उनको बोली चालीमा तर आँखाभरि आसु पनि टिलपिल टिलपिल पारेकी थिइन, असिमित र अपार खुसीको… । बिहे नै नहुने सोचेकी लाटीकी आमाले, लाटीको बिहे भएर पनि नाती नातिनी पाउने भई । त्यसैले होला लाटीकी आमाको खुसीमा सीमा नै थिएन । जोसँग पनि देख्ने भेट्ने बितिकै भन्थिन् “मेरी छोरी लाटी दुई जिउकी भएकी छे, पाउने भईछे ।”
केही महिना पछि थाहा भो लाटी त माइत मै बस्न थालि रे भनेर । खै किन हो लाटी दुई जिउकी भएपछि लाटोले कुटपिट गरेर काममा असाध्यै धेरै दल्न थालेकोले उ भागेर माइती आएकी रे भन्ने हल्ला भयो । हुन पनि सत्य त्यही नै रहेछ पछि लाटो उसलाई लिन आएको थियो तर लाटी दिनभरी नै रोई रही र उसँग जान मानिन । पिडा असाध्यै धेरै भयो होला त्यसैले मानिन उसँग जानलाई ।
लाटीकी आमालाई केही समय पछि ठूलो खुसी थपियो । लाटीले असाध्यै राम्री, गोरी, भुक्लुक्क परेकी छोरी जन्माई । लाटीका दाजुभाउजु भदाभदैनी सबै खुसी थिए । लाटीकी त्यति सुन्दर राम्री छोरी देखेर । लाटीकी आमाले गाउँभरि सुनाई हाली खुसी हुदै, ‘मेरी लाटीले राम्री नातिनी जन्माई । कति धेरै खुसी लाग्या छ तर अब कसरी पाल्छे, के खुवाउछे, कसरी हुर्काउछे, बुढासँग पनि जान्न अरे ।’ यस्तै यस्तै बिलौना पनि गर्थि लाटिकी आमा । गाउ भरीकाले चामल, पिठो, लत्ताकपडा, पैसा, मासुको झोल, रस, गेडागुडी जे हुन्छ सबै दिए, लाटीको सुत्केरी उकास्न । राम्रैसँग लाटी तन्दुरुस्त भई । लाटीकी छोरी पनि स्वस्थ पौष्टिक आहारा नै खाएकीले पनि हुनुपर्छ पोषणले भरीपूर्ण भएकी थिई । विस्तारै हामीले नि देख्यौ । लाटीकी आमाले पिठ्युमा बोकेर, ढाडमा बोकेर सारीको टुक्रोले कम्मर र छातीमा बाँधेर गाउभरि डुलाउथी अनि लाटीले नि त्यसै गर्थि । हेर्दा हेर्दै लाटीकी छोरी छ महिना, एक वर्ष, डेढ वर्ष, दुई वर्ष हुदै तीन पनि कटि सकिछ । तर त्यो लाटीकी छोरी यति सुन्दर, यति गोरी, राम्री, हँसिली थिई । ऊ कुनै सम्पन्न परिवारकी नातिनी जस्ती हँसिली थिई । त्यति उज्याली थिई । गाउभरीका बुढाबुढी सबैले भन्ने गर्थे “लाटीकी छोरी कति राम्री, कति धेरै उज्याली, कति लच्छिनकी, प्यारी यो त लाटीकी गर्भमा पनि कसरी आइछ हँ ।’ आफू लाटी, गरीब भएनि, लाटीकी छोरी असाध्यै भाग्यमानी छ । आँखा कति राम्रा, केश, टाउको, अनुहार, कति मिलेको, भगवानले लाटीलाई बिछटै राम्रो उपहार नै दिए जस्तो छ ।” यस्तै यस्तै मान्छेहरूले भन्ने गर्थे… ।
जेठको महिना थियो । प्रचण्ड गर्मी दिनभरीको घामले घरि घरि तातो हावा पनि चल्ने । जेठको अन्तिम तिर हुनुपर्छ अट्ठाइस उन्तीस गते जस्तो लाग्छ । झण्डै २०५१ वा २०५२ साल तिरको त्यो दिन हो । हामी बेलुकाको थान्को मुन्को तिर लाग्यौं । गाई, भैसी, बाख्रा पाठा थन्काउने, पराल हाल्ने तयारी गर्दै थियौँ,  आमाले अलिक ठूलो स्वरले भन्नुभयो  “पराल हाल गाई भैसीलाई, खाले पनि ख्वाईहान्नुपर्छ चाडै । आज कालो बादल मठारिरहेकोछ, पश्चिम दक्षिणतिर, ठूलो आँधीवेहरी सहित पानी आउछ जस्तो छ ।” छिटो गर भन्दै गर्दा साँझ झमक्क पनि भैसकेको जस्तो भयो । आमाले भैसीको दूध दही कुडेमा तताउनु थाल्नु भयो । भात तरकारी पनि पाक्दैथियो । टुकीको मधुरो उज्याले थियो मटितेलले बल्ने । विस्तारै पश्चिमतिरबाट हावाको गति बढ्दै थियो पूर्वतर्फ । पश्चिम पटी बासको झाङ भएकोले होला हावाको सानो वेग खासै थाहा नहुने तर अलिक ठूलो हावाको वेग भने स्वा….स्वा… गरेको आवाज सहित बढेर आएको मात्र थाहा भयो । बिजुली चम्किन थालीसकेको थियो आकाशमा । निश्पट्ट अँध्यारो भएको थियो बाहिर पटी कालो बादलले आकाश नै ढाकेर ।
आमाले आत्तिदै बोलाउनुभो ‘छिटो भात खान आइहाल, हुण्डरी पनि आउने जस्तो छ । छिटो छिटो खाएर माथि कोठामा चढी हाल्नुपर्छ । आजको बतासको संकेत त्यति राम्रो छैन, के के गर्ने हो यसले !’ के आमाले यसो भन्दै गर्दा हामी पनि घर मुनीको भान्सामा आयौ, आमाले हतार हतार गर्दै भात तरकारी थालमा हाल्नु भयो र तातो भात फुक्दै छिटो छिटो खान थाल्यौँ । केही गाँस मात्र के खाएका थियौँ, हुण्डरीको शक्ति यसरी बढेर आयो कि पानीको बाछिटाले बासको भाटाले बनाएको टाटीबेरालाई समेत छेडेर भान्सामा, भातमा, दूधको कुडेमा सबैतिर आईपुग्यो । यति शक्तिशाली हुण्डरी आयो कि काठको खाबो भएको घर नै पल्टाउला जस्तो गरेर हावाको वेगले धकेल्न थाल्यो । हामी त्यही बाङ्गिएर लड्न लागेको बासको भाटाको बेरालाई ठेल्न थाल्यो चार जना भएर । त्यसैबेला अकासत आमाले चिच्याउन थाल्नु भयो । ‘हरे राम राम राम, हरे शिव शिव, हरे राम राम भन्दै – आज नकाट्ने भइयो ।’ हामी सबै मर्ने नै भइयो जस्तो लायो त्यो हुन्डरीको वेग र पानीको बाछिटाले हानेको देखेर । करिब दश मिनेट सम्मको भयानक, शक्तिशाली, त्रासदीपूर्ण त्यो हुन्डरीले हाम्रो बाँच्ने आशा सबै मरिसकेको थियो ।
   तर विस्तारै हुण्डरी रोकीदै रोकिदै गयो । पानी ठूलै पर्दै थियो । आकाशमा गड्याङ्गुडुङ् गर्दै विजुली चम्किरहेको थियो । पानी ठूलै पर्दै थियो । केही समयपछि अरु छिमेकीका मान्छे हातमा टर्चलाइट बोकेर हल्ला गर्दै निस्किए । ‘ए यहा रुख ढलेछ ।’ ‘बाटामा मेरो आपको रुख ढलेछ’ भन्छ अर्को । ‘नरिवलको रुख पनि ढलेछ’, अर्काे एक जनाले भन्दै थिए । साना ठुला गरेर अनगिन्ति रुख ढलेछन । ‘स्कुलको छानो उडाएर ध्याकलकट्टा तिर पु¥याएछ’ । फेरि अर्काेले भन्दै आए ‘ए मेरो त सबै घरको छानाको खर उडाईदिएछ’ । अनि हामीले नि माथि चढेर हे¥यौँ माथि पटी घरको धुरीको खर  वारपार नै सबै उडाइदिएछ । झिलिक्क गरेको उज्यालो लाइट पो देखियो छानोबाट । अनि पानीले पनि भिजाइदिएछ ।सबैजनाका ओछ्यान र ओढ्ने सिरक अनि लाउने कपडा, धान, मकै, तोरी …सबै सबै । कसै कसैका त बाख्रा र गाई पनि मरेछन च्यापिएर ।
सबैजना बाटोभरी निस्किएर हातमा टर्चलाइट बोकेर, घरघरमा कोही टुकी बालेर, अनि त्यसैमा कोही वेजोडले चिच्याउदै रोएको आवाज सुनियो । यसो पूर्व दक्षिण तिर । हामी पनि त्यतैतिर लाग्यौँ । बाटाभरी रुख लडेका थिए ।’ रुख पन्छाउदै, उफ्रिदै गयौँ । अनि कसैले भन्दै थिए । “लाटी रोएकी जस्ती छे । लाटीको आवाज जस्तो छ ।” अनि त्यतैबाट एक जना दगुर्दै आएर स्यास्या गर्दै बोल्यो,  “लाटी… लाटी … लाटीकी छोरी … छैन । हराई … लाटी उसकी छोरी नभेटेर डाको छोडेर, छाती पिटेर रोइरएकी छे ।”
तुरुन्तै हामी सबै त्यतैतिर लाग्यौँ, लाटी त कोइराला सरको घरमा पुगिछे । आमाले घर छोडेर हुण्डरी आएको बेला ।सबैले यताउता खोजे टर्च लाइट बालेर कतै भेटिएन लाटीका छोरीलाई । पानी पनि रोकिसकेको थियो । लाटी कुदेर आमाको घर आई जहा आमा र छोरीलाई छाडेर उ भागेकी थिई हुण्डरी चलिरहेको बेला । लाटी फेरि रुन थाली क्वाँ क्वाँ गरेर, ठुलो स्वर निकालेर । लाटीकी आमाले भुई घर, बासको टाटीबेरा खरले छाएको भुईघर थियो । दक्षिण पश्चिमको हुण्डरीले बास, सण्ठी र माटोले बनेको टाटी गल्र्याम्म लडेछ भित्रपटि, माथिको खरको छानो पनि  हुण्डरीले उडाइदिएछ घ्याकलकट्टा खोलातिर । सबैले आशंका गरे पक्कै लाटीकी आमाछोरी यही हुनुपर्छ । कोही यताउता खोज्दै थिए । केही मान्छेले भित्र जमेको पानी छ्यापे र सुकाएअनि त्यो भिजेको माटोले गलेको टाटी अलि अलि गर्दै सारे । एकै छिनमा लाटीकी आमाको ख्वार ख्वार… गरेको सानो आवाज सुनियो । सबैले टाटी पल्टाए । लाटीकी आमाको ख्वार ख्वार गरेको अलिअलि सास फेर्दै गरेजस्तो सानो आवाज सुनियो । लाटीकी आमा घोप्टो परेर लडेकी, त्यो टाटीले लडाएको अनि थिचेको उमाथि लाटीकी आमाले लाटीकी छोरीलाई उनको छातीमा च्यापेकी दुई हातले पक्रेर सुरक्षा दिएकी… तर के गर्नु उनको बुढो शरीर मुनि लाटीकी छोरी, त्यसमाथि उनको शरीरलाई त्यो भिजेको भारी टाटीले थिचेको अनि पानी जमेको त्यो जमेको पानीमा लाटीकी छोरी निस्सासिएर बेहोस भएकीजस्ती देखिने । बुढी आमा चाहि फोहोर पानी खादै अलिअलि सास फेरेकी । लाटीले त्यो आमा र छोरीको अवस्था देखेर छाती पिटी पिटी बिलौना गरी रही… । हेर्दा निलो दागैदाग देखिसकिएको लाटीले फुत्तै खोसेर च्याप्प बोकी र चिच्याउँदै रोई, ‘ना…नी…’ भन्दै बिलौना गर्दै आसुका धारा झार्दै क्वा …क्वा गर्दै रोई…। पानीले भिजेको भुईमा लडी लाटी, मरिसकेकी छोरीलाई उसको छातीमा टाँसी रह्ी अनि बिलौना गर्दै चिच्याईरही । सबैका आँखा भरी आसु भरिएर बगिराखेका ।
लाटीकी बुढीआमा विस्तारै बौरीदै गइन् । तर उनकी प्यारी, सुन्दर, मायाकी खानी, नातिनी बचाउन सकिएन । लाटीले आमाले नै उसकी छोरी मारी भने जसरी लाटीकी आमाले  झम्टिदै भक्कानिएर रोइरही । रातभरि, त्यहाँ  त्यस्तै धेरै रात दिन हप्ता, महिना, वर्ष त्यही छोरीसँगैका क्षणहरू सम्झिदै रोईरही रातभरि सानो टहरामा । विहान उसका दाजुहरूले त्यो मरेकी लाटीकी छोरीलाई अलिक पर खोलाको बगरमा लगेर खाल्डो खनेर गाडे । तर त्यो माटोको चिहानमा बेला बेला लाटी पुगिरहने अनि आलाप विलाप गर्दै छोरीलाई सम्झिदै चिच्यारहन्थी । आँसु झारी रहन्छे अविरल…बिचरा लाटी… । न मुख धुन्छे लाटी …निकै दिनपछि देखें लाटीलाई । गाला भरी आँसुका टाटैटाटा …कता कता लाग्यो ती आँसुका टाटाहरूमा लाटीकी छारीको  सुन्दर तस्विर बने जस्तो । त्यहाँ त्यस्तै धेरै रात दिन हप्ता, महिना, वर्ष त्यही छोरी सम्झिदै रोईरही कठै त्यो लाटी …!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।