आस्थाको बोट : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
यौटा पीपल बोट यो चउरमा देख्दैछु मै सुन्दर
आँखा चिम्म समेत कत्ति नगरी हेर्दै छ चारैतिर
छायामा उसका बसी कति गए मान्दै बढेझैँ बल
मायामा दुनियाँ रमी कति गरे यै फेदमा छल्फल ।१।
यौटै आसनमा सधैँ दृढ छ यो जाँदैन भागी कतै
भोकै बस्न तयार हुन्छ सहसा खाँदैन मागी कसै
यो गर्दैन विभेद भेद र कतै गर्दैन गाली पनि
नेता हो युगको सशक्त तर खै माग्दैन ताली पनि ।२।
बाँढ्ने गर्दछ प्राण वायु यसले बाँचौँ बचाऊँ भनी
हल्ली हल्हल डुल्छ यो गगनमा हाँसौँ हसाऊँ भनी
भन्दै शान्ति म खोज्छु बुध्द नि यहीँ आई पलेँटी कसे
भारी किन्तु बिसाउँदैछ भरिया यैँ सुख्खले ढुक्कले ।३।
चौतारी सबको बन्यो हृदयको प्यारो असाध्यै अहो !
पक्षीका गणको निवास छ जहाँ उल्लास उत्साहको
आमा भैकन गर्न पालन उही भर्दैछ माया सधैँ
प्राणी नै भय तापमा छ कि भनी बाँड्दैछ छाया सधैँ ।४।
धर्तीको उपहार यो मनुजले भन्छन् नराख्ने अब
टुक्रा नै यसको गरेर लिउँला भन्छन् खरानी अब
यो साझा गहना समान छ अहो पाइन्न मास्नै भनी
सक्दैनन् किन बोल्न मानिसहरु बाँच्दै मरेको जुनी ।५।
यै हाम्रो पहिचान नाम सब हो भन्दैछ कोही अझै
योध्दा सत्य र न्यायनिम्ति अहिले बन्दैछ कोही अझै
आमाको मन दुख्छ है सजग भै कर्तव्य गर्ने गरौँ
आस्थाको पथमा निरन्तर हिँडी उत्साह भर्ने गरौँ ।६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
