उदार बनौँ : त्रिलोचन आचार्य (कविता )

उदार बनौँ :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

दिलदार बनी, व्यवहार गरौँ
अनुदार भए त सुधार गरौँ
सुख शैल छुने, हकदार बनौँ
भरिशक्य मसक्क, उदार बनौँ ।१।

परिपालन होस् अनुशासनको
परिचालन होस,् त सुशासनको
नव चिन्तनमा लयदार बनौँ
हर पाठ सपाट, उदार बनौँ ।२।

लुटबाट बने, दरबार ठुला
झुटबाट हिँडे, सरकार पुरा
प्रतिकार निमित्त तयार बनौँ
अनि सार सकार उदार बनौँ ।३।

कस बस्छ विकार भिरेर बसे
रस सुक्छ अवश्य कुरेर बसे
भय टाल्छु म फाल्छु विकार भनाँै
दरकार छ भन्नु, उदार बनौँ ।४।

सब सार भुले छ असार सधैँ
मन हार बने छ अपार सधैँ
किन लोभ र राग शिकार बनौ ?
सब धर्म–सुकर्म, उदार बनौँ ।५।

कति आश सजाउनु चित्त भरी
कति बात बजाउनु राग छरी
पर धाम, तमाम नि छैन सुनौँ
सब भित्र छ मित्र, उदार बनौँ ।६।

मन झल्ल छ सल्सल तार बनौँ
भय चिर्न सरक्क धार बनौँ
सुविचार भरौँ, अधिकार चिनौँ
कति भार रहन्न, उदार बनौँ ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।