जनताको आशा : विष्णु थापा ‘बिछोड’ ( लघुकथा)

जनताको आशा : विष्णु थापा ‘बिछोड’ ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

स्थानः बागमती नदी किनार – भेटघाट सेकुवा कर्नर
समय : सन्ध्यादेखि साँझसम्म
“संघीयता त साँच्चै महँगो रहेछ, मित्र बलदेब ।” बल्ल थाहा पाएँ–
गोपाल जीले गोर्खा स्टङ्गको चुस्की लगाउँदै तितो जिब्रोमा तितो मिश्रित आक्रोश उठाए,
जनतालाई विदेशी ऋण बोकाएर तिमीहरू पालिनुपर्ने?
“तिमीहरूलाई महिनामा पचास हजार भत्ता, सत्तरी हजार घरभाडा, करोडौँको गाडी, दुई सय लिटर फ्री पेट्रोल । सुरक्षागार्ड, सचिव, भान्से—सुविधाको चाङ ! क्या मोज छ, है ।” मन्त्री भएपछि
सुब्बा रमेशकुमारले चिकेन चिल्लीको टुक्रा मुखमा च्याप्दै कुरा थपे–
“आफ्नै घर भएर पनि घरभाडा ? एता हामीलाई भनेँ महँगीले ज्यान धान्न सकस छ । तिमीचाहिँ पेट्रोल फ्री, गाडी फ्री—बेलैमा राजनीति थालेछस्, अब त तेरो दिन आयो, तेरो लाइफ देख्दा डाहा लाग्छ ।”
मोटे शुरवीर हाकिमले एक गिलास घुट्क्याउँदै पुक्क गाला फर्फराउँदै फिस्स हाँसे,
“राजस्व जनताबाट जबर्जस्ती असुली, नेताहरू पाल्ने सरकार, राजनीति सेवा कि ! सुविधा, हाहाहा ! जनताको चुल्हो चिसो, नेताको कुर्सी तातो !”
त्यति खेरै स्कुले दौँतरी गणेश शाक्यले गम्भीर भएजसरी भने,
“धेरै नपेल है बिचरालाई—देश टुक्र्याएर भागबन्डा मिलाएको पनि ‘विकास’कै नाममा हो नि । कुर्सी टिकाउन मात्रै कति जोखम गर्नु पर्छ भन्ने थाहा छैन तिमीहरूलाई ।”
बलदेब मुसुक्क मुस्कुराए पोर्कको टुक्रा चपाउँदै,
चुरुप्प चुस्की लिएर बोले मन्त्री बलदेव
“सुन् हौ, तिमीहरूलाई संघीयता महँगो लाग्छ होला, तर मलाई सस्तो लाग्छ, किन थाहा छ ?
तिमीहरू समयमै पढ्यौ, जागिर खायौ, पेन्सनको ढुक्क अझै नियमित तलब सुविधा ।
म चाहिँ ?
क्याम्पसदेखि राजनीतिमा होमिएँ, सडकमा लडेँ, जेल बसेँ, समयसँगै अनेकौंको कुटाइ खाएँ ।
आफ्नो जवानी पार्टीको झण्डा भिरेर सिङ्गै बिताएँ ।
आज ५० को दशकमा आएर बल्ल माननीय हुँदै मन्त्रीको ट्याग लागेको छ ।
तर यो कुर्सी कति बेला खुस्किन्छ, थाहा छैन । नेताको भविष्य कहिल्यै निश्चित हुँदैन ।
संघीयता नआएको भए, यस्तो दिन पनि आउने थिएन ।
यी थोरै सुविधाहरू त त्यसैको उपज हुन् ।
अनि फेरि मसँग बस्दा तिमीहरूले कहिले जमघटको बिल ति¥यौ ? एक खिल्ली चुरोटका लागि पनि हात काँप्नेहरू !
यसपालि पनि कर्मचारीको तलबभत्ता बढाउने कोशिश गरौँला साथ देओ न यार तिमीहरू, कर्मचारी र नेता मिले यो देशमा के हुँदैन ?
तर मलाई तिमिहरूले सम्मानले ‘माननीय’ भनिदिंदा पनि खोक्रो लाग्छ ।
बाहिर चमकधमक छ, भित्र पुरानो झोलाभित्र च्यातिएको देश बोकिएको छ ।” यो राजनीतिको भिडमा यो झोला कसले कहिले कतिबेला थुतिदिनेहुन् पत्तै हुन्न साथी हो ।
त्यसपछि के चाहियो ?, हाँसोको फोहरा छुट्यो ।
“ल ल, सबैले ग्याम्बे गरौँ !”
नसा र जोस मिसिएको तालमा हाँसो हलभरि गुञ्जियो ।
तर त्यो हाँसोसँगै विलिन हुँदै थियो चुरोटको धुँवा,
र त्यहीँ कतै हराउँदै गइरहेको थियो ।
आम भुइँमान्छे र जनताको बाँकी रहेको ‘आशा’…जस्तै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।