तिमी रागि हौ : सुमित्रा बजगाँई (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
घामलाई पनि बेथा लागेको थियो
तिमी धुम्बिएको दिनको आकाश बनिरहँदा
सातदिन सातरात धुम्बिएपछि जब
तिम्रो पाठेघर रित्तिएर काख भरियो––
तब रक्तस्राबले पोतिएको तिम्रो खाप्चोमा
महको चमक छाएको थियो ।
तिम्रो स्तन फुटेर चुहिएका अमृतधाराले
नवोत्पन्नको ओठ भिज्दा ,
तिम्रो नारित्वले पूर्णता पाएको थियो ।
डरले कस्सिएको उस्को मुठ्ठि,
स्नेहले खोल्दै उत्तरार्ध खोजिरहँदा
तब नै होला तिमीले सन्तुष्टिको स्वास फेरेकी ।
छातिमा टाँसेर स्पन्दनको एउटै चाल बनाउँदै ,
थपथपाउने बाहनामा
नजाँनिंदो पाराले
उसको निधारमा
एक पसार इन्द्रेणी भरीदिएकी
रङ्गाउँदा रङ्गाउँदै इन्द्रेणी
बिर्सियौ तिमीले आफू रङ्गिन ।
फुस्रिए छाला चाउरिए गाला,
मस्तिक गले, कुर्कुचा फाटे,
तर तिमी कहिल्यै थाकिनौ ।
खनायौ सर्वस्व र रित्तियौ,
आफूलाई केही राखिनौ ।
तिम्रो उत्सर्गले त आज हरेक रङ्ग
इन्द्रेणी भएका हुन्
आमा तिमी त्यागी हौ रागि हौ,
तिमी अतुलनीय श्रेष्ठ छौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक