अन्तिम इच्छा : ध्रुवराज थापा ‘पुरूष’ (कविता )

अन्तिम इच्छा :  ध्रुवराज थापा ‘पुरूष’ (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

तिमीलाई जान्ने रहर होला !
सोध्छौ होला मलाई
“तेरो अन्तिम इच्छा के छ ?”
मेरो आलिसान घर
छिमेकीको बुकुरो !
मेरो मोटरगाडी, धन दौलत
छिमेकी कचौरा बोकेर मेरा दैलामा !
म भूमिपति,
मेरा छिमेकी मेरा मोही !
मै खाउँ मै लाउँ
अरू सब मरून् दुर्बलहरू !
विदेशी बैँकमा कालो धन थुपारेर
सातपुस्तालाई पुग्ने
सम्पत्ति जोडने
अहँ म यो चाहन्न
हुन सक्दैनन् यी सब
मेरा अन्तिम इच्छा !

मलाई तानाशाह
बन्नु छैन यो देशको
तातो रगतको
होली खेल्नु छैन मलाई
सक्छौ यदि भने
मलाई सुन्दर शान्त मेरो
बिशाल देश देउ
आर्तहरूको घाउ
कहिल्यै नबल्झने गरी
निको बनाउ ।
काम र मामको
ग्यारेण्टी देउ
न्याय किनबेच गर्ने
पसल बन्द गर !
सक्छौ ?
यही हो मेरो अन्तिम इच्छा
यदि सक्दैनौ भने
किन सोध्छौ मलाई
अन्तिम इच्छा के छ भनेर ?

भ्रष्टाचारी र अपराधीलाई
कानुनको कठघरामा देख्ने
मलाई इच्छा छ !
नारामा होईन व्यवहारमा
समृद्ध र सुखी नेपाली
हेर्ने इच्छा छ !
सक्छौ तिमी मेरो इच्छा पूरा गर्न ?
सक्दैनौ यदि भने
किन सोध्छौ मलाई
तेरो अन्तिम ईच्छा के छ भनेर ?

तिमी सक्छौ भने
शिक्षा र स्वास्थ निःशुल्क गर
धर्म र जातीको नाउँमा
सद्भाव भड्काइ
धमिलो पानीमा माछा मार्न
खोज्नेको पहिचान गर !
कारबाही गर !

राष्ट्रिय एकता भाँड्ने
बिखण्डनकारीलाई तह लगाउ
देशमा रामराज्य कायम गर !
यदी सक्दैनौ भने
किन वारवार सोध्छौ
तेरो अन्तिम इच्छा के छ ? भनेर !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।