रहस्य : मनोहर पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
उनले धर्तीको माटो उठाए, निधारमा दल्दै कसम खाए– “बाँचें देशका लागि बाँच्छु, मरे यही देशका लागि मर्छु ।”
राजनीतिक सङ्क्रमण जटिल बन्दै थियो । उनी चिच्याए, “मलाई ज्यानको पर्वाह छैन, मुलुकको चिन्ता छ !”
जनता आक्रोशित थिए । परिवर्तनको अनुभूति गर्न नपाएको पीडाले छटपटिएका थिए, “देश कहिले बन्ला ? कसले बनाउला ?” प्रश्नहरू गुञ्जिरहेका थिए ।
छाती पिटीपिटी भाषण गरे– “राजनीति भयावह अवस्थामा पुगेको छ, मेरो हत्या गर्ने षड्यन्त्र भइरहेको छ !” बेथिति, विसंगती उजागर गर्दै शान्ति र समृद्धिका लागि उनले देखाएको दृढता र प्रतिबद्धताले समर्थन दिनदिनै बढ्दै थियो । उनको भाषणले सुरक्षाका दृष्टिमा आगामी दिनहरू चुनौतीपूर्ण बन्दै जाने संकेत दिइरहेको थियो ।
एक्कासी उनी ढले । कोलाहाल मच्चियो । “गोली चल्यो, हत्या भयो ! हत्या !” भीड चिच्यायो । देशभर प्रदर्शन चर्कियो ।
अभियुक्त पक्राउ परे, प्रमाण नपुगेर छुटे ।मृत्यु रहस्यमय बन्यो । सरकार ढलमलियो ।युवकलाई सहिद घोषणा गरियो । चोकमा सालिक बनाइने भयो ।
साहसी युवाको मृत्युले सहानुभूति सँगै पार्टीको समर्थनको लहर उठ्यो । “हत्याको षड्यन्त्र भइरहेको छ ।” भनेर भाषण सिकाउने युवकका मित्र नेताजी चक्रगुप्त मुस्कुराइरहेका थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक