भ्रम : छायाँदत्त न्यौपाने ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत २।
खुला बगैंचाको बुढो पिपलमुनि बसेर केही केटीहरू गफिँदै थिए । म अलि पर धुपीको फेदमा बसेर पत्रिका पढ्दै थिएँ । ती केटीहरूको गफ मेरा कानसित ठोक्किए । गफ अलि फरक भएर हो कि कान त्यतै आकर्षित भए ।
केटी एकले भनिन्–मसँग मान्छे सजिलै उल्लु बनाउने औजार छ ।
सबै केटी– हँ के भन्छे यो केटी काम नपाएर !
केटी एक– के , के के भन्छे, तिमीहरू भन्छौ भने म प्रमाण दिन सक्छु ।
लौ, लौ देन त प्रमाण हेरम हामी पनि !
केटी एक–ल, ल, सुन, मेरी फुपू दिदी विवाह गर्दिनँ भनेर जिद्दी गर्थिन् । गर भनेर मनाउन सकिएको थिएन, केहीसिप नलागेको । केटी हेर्न भन्दै कति आए । उनी जिङरिङ्ग परेर देखापर्ने । जति केटा आउँछन् मन नपराउने ! हजुरबाआमा हैरान, बाबाआमा पनि अचम्म ! किन होला के भा ? आफै खोजेको भए भन,भन्छन्,जति सम्झाई बुझाई गरे पनि केहीसिप लागेको थिएन ।
एकदिन फुपूका साथीहरूसित हजुरआमाले गुनासो गर्नुभो । उनीहरू एकमुख भएर सम्झाएछन् । बल्लतल्ल तयार भइन् दिदी । केटा हेर्न आउँदा मजाले ठाट्टिएर देखिइन् । मन पराहाले बिहे भो ।
सबै केटी –यसमा उल्लु बन्ने/बनाउने कुरा कहाँ आयो त ? गफ पनि अलिक सुहाउँदो दिनु नि !
केटी एक– कुरा बुझेनौ र ! नसिँगारिँदा नराम्री भनेर छाडिएकी केटी शृङ्गार गरेपछि सुन्दर भइन् आकर्षक देखिइन् । व्यक्तित्व त कृत्रिम सिँगारपटारले झल्काउने रहेछ । केटा मान्छे त्यसैमा मक्ख ।वास्तविकता छाडेर बनावटीमा रमाउने चेत उल्लू नभए दुल्लु हो त !
सबै केटी – यी रङरोगन प्रसोधन सामग्रीले सौन्र्दर्य थप्छन् । यो त साँच्चै हो नि !
केटी एक–साँच्चै त हो तर पैसा तिरी तिरी लिपपोत गरेको अनुहार पत्याएर निर्णय गर्नु त ?
सबै केटी –अनुहार न दनुवारकी केटी सिँगारिएर केकेन राम्री भएँ भनेर भ्रम पाल्नु चाहिँ के नि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक