संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ, २९ भदौ । नेपालको संविधान २०७२ जारी गर्ने भव्य समारोहमा उपस्थित हुन राष्ट्रपति डा रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले औपचारिक रुपमा निमन्त्रणा पत्र दिनुभएको छ ।

अध्यक्ष नेम्वाङले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा यादवलाई लिखितरुपमा निम्तो दिनुभएको हो । संविधानसभाले असोज ३ गते आइतबार साँझ ५ बजे संविधान जारी गर्ने समय तय गरेको छ । यसका लागि संविधानसभा सचिवालयले भव्य र आकर्षण समारोहको तयारी गर्र्र्दैछ ।

निम्तो दिएपछि अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई भन्नुभयो, “असोज ३ गते आइतबार ५ बजे संविधान जारी गर्ने समारोहमा उपस्थित हुनका लागि मैले राष्ट्रपति डा यादवलाई औपचारिक रुपमा लिखित निम्तो दिएँ ।”

उहाँले संविधानसभाले संविधानको धारा पारित गर्नेक्रम जारी रहेको र भदौ मसान्तभित्रमा यो क्रम पूरा हुने जानकारी दिनुभयो ।

जवाफमा राष्ट्रपति डा यादवले संविधान जारी हुने भव्य समारोहमा आफू उपस्थित हुनका लागि चाँडै खबर गर्ने जानकारी दिनुभएको अध्यक्ष नेम्वाङले बताउनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष नेम्वाङले भन्नुभयो, “मलाई पूर्ण विश्वास छ राष्ट्रपति सो समारोहमा उपस्थित हुनुहुनेछ ।”

अहिले राष्ट्रपति डा यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले शीतल निवासमा भेटवार्ता गरिरहनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।