चर्चमा राखिएका बम विष्फोटबाट तीन प्रहरी घाइते

भद्रपुर, २९ भदौ । झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो ।

गौरादहको बम अहिलेसम्म निष्क्रिय नभएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

दमकको चर्चमा राखिएको बम गएराति ११ः३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति नभएको उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा आज बिहान ७ः४० बजे भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ ।

घाइते खतरामुक्त रहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । घटनाका विषयमा र बम कसले राखेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ । रासस

तपाइँको प्रतिक्रिया ।