रहस्योद्घाटन : दुर्गा पी अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
“जुठो भाँडा सफा गरि सकिस् ?”
“गर्दैछु आन्टी ।”
“छिटो छिटो गर । कति ढिलो गरेको ? नानीहरूलाई सुताउन ढिलो भयो ।”
“आन्टी, आज त पाहुनाहरू धेरै भएकाले जुठो भाँडाहरूको रास छ, समय लाग्छ ।
“हेर ! यसले मुख लागेको ? ए बाबा ! यता आउनुहोस् त ! पिङ्कीले मलाई मुख चलाउँदै छे ।”
“आन्टी मैले तपाईँलाई कसरी मुख चलाएँ ? अङ्कललाई हावाको पोल किन लगाउनु भा’को ?”
गंगानाथ पाहुनाहरूसंँग बैठक कोठामा गफमा मस्त थिए।भान्सा कोठाको होहल्ला सुनेपछि उतैतिर लागे ।
“के को हो हल्ला ? घरभरि पाहुनाहरू छन् । अलिकति पनि लाज शरम छैन?”
“मलाई पिङ्कीले मुख चलाउँदै छे, यसको थुतुनो अलिक सम्हालेर बोलोस् ।”
“अंकल, मैले आन्टीलाई मुख चलाएको छुइँन । आज पाहुनाहरू धेरै भएकाले जुठो भाँडा सफा गर्न समय लाग्छ भनेको मात्रै हो ।”
गंगानाथले श्रीमतीलाई सम्झाउँदै भन्छन् “पिङ्की टुहुरी केटी हो, पाँच वर्षको उमेरदेखि यहाँ बसेकी हो । छोरी जस्तै भएर घरको काम गरिरहेकी छे । बिहान उठेदेखि आफ्नो काममा तल्लीन रहन्छे । हाम्रा नानीहरूलाई राम्रो हेरचाह गर्छे।तिमीलाई आराम मिलेको छ । उसँग राम्रो व्यवहार गर । स–साना कुरामा निहुँ झिक्दै गाली गर्नु हुँदैन ।”
त्यति नै बेला सानी छोरी रेश्मा छेउमा आउँछे र बाबा–आमालाई एउटा गुडिया देखाउँदै भन्छे, “आज पिङ्की दिदीले माघे मेलामा किनि दिनुभएको गुडिया कति सुन्दर छ नि !”
“नानु, पिङ्की तिम्री ठूली दिदी हो ।” गंगानाथले मुख फोरे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक