लोग्नेको भाषण : भलादमी भोला (लघुकथा)

लोग्नेको भाषण : भलादमी भोला (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

स्वास्नी बिहान सखारै उठी । लोग्ने चाहिँ आँखा उघारेर पनि सिरक भित्रै थियो । हातले टेबलमा रहेको मोबाइल तान्यो र मोबाइलको स्क्रिन तल माथि सार्न थाल्यो ।
उसले खबर प्रशस्तै हेर्यो  होला । सुन्यो होला । तर उसको मन अघाएकै थिएन । उसको हातबाट मोबाइ छुटेन ।
उसले कोठाबाटै स्वास्नीलाई हप्कायो । “ए ! पार्वती चिया ल्याउन कति समय लगाएकी ?” भान्सा कोठासम्म मधुर आवाज पुग्यो । ल्याएँ, ल्याएँ पार्वतीले प्रतिउत्तर दिई ।

तातो पानी र चिया लगेर टेबलमा राखी । यहाँ ले, लोग्नेले भन्यो । “अहिले ओछ्यानमा पोखिन्छ । उठेर खानु । हिजो मात्र धोएको तन्दा छ ।” स्वास्नीले भनी ।
उसले ठूलो आँखा पारेर स्वास्नीलाई हे¥यो । स्वास्नी केही नबोली बाहिर निस्की । टेबलबाट पानीको गिलास उठायो र भित्तामा टाउको अड्याएर पानी पिउँदै मोबाइल हेर्न लाग्यो । खुट्टा यसो पसारेको मात्र थियो । गिलासको पानी पोखियो र तन्दालाई छिचोलेर डस्ना पनि भिज्यो ।
उसले फेरि स्वास्नीलाई करायो, पार्वती यहाँ आ । के भो ? स्वास्नीले भनी ।“पानी पोखियो नि ।” लोग्नेले भन्यो । अघि नै भनेको होइन मैले ? मतलब गर्ने हैन, भनेर उसले जवाफ फर्काइ । लोग्नेलाई त्यो जवाफ आदेश जस्तो भयो ।
ऊ भोकै अफिस हिँड्यो । दिउँसो एक कार्यक्रममा महिला पुरुषको समानताको भाषण गर्यो  । भाषण गरेको कुरा उसले बाटैमा बिर्स्यो  । बेलुकासम्म ऊ स्वास्नीसँग रिसाइ रह्यो ।
आजको पत्रिकामा लोग्नेको भाषणको विवरण देखेर स्वास्नी जोड जोडले हाँस्न थाली । लोग्ने ट्वाल्ल परेर हेरिरह्यो ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।