बुढानीलकण्ठमा राजस्व सङ्कलन सम्बन्धी घुम्ती शिविर सुरु

बुढानीलकण्ठमा राजस्व सङ्कलन सम्बन्धी घुम्ती शिविर सुरु

कपन अनलाइन

काठमाण्डौ ,फागुन १८।

बुढानीलकण्ठ नगरपालिकामा आजदेखि राजस्व संकलन सम्बन्धी घुम्ती शिविर कार्यक्रम सुरु भएको छ।

यस कार्यक्रमको समुद्घाटन वडा नं. ७ बाट नगर प्रमुख मिठाराम अधिकारीले गरेका हुन्  । शिविर २०८२ साल बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ।

प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालका अनुसार नगरपालिकाका १३ वटै वडामा क्रमशः सञ्चालन हुने यो शिविरले वडाका प्रमुख चोक, बजार क्षेत्र र टोलमा सेवा प्रदान गर्नेछ । कार्यक्रमको विशेषता भनेको सोहि स्थानमै व्यवसाय दर्ता तथा नविकरण गर्न मिल्ने व्यवस्था मिलाउनु हो, अर्यालले जोड् दिएका छन।

नगर प्रमुख मिठाराम अधिकारीले कार्यक्रममा बोल्दै कर तिर्ने प्रचलनलाई प्रोत्साहन दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साथै, उहाँले नगरबासीलाई कर समयमा तिरेर नागरिक कर्तव्य पूरा गर्न अपिल समेत गरेका थिए।

“समयमै कर तिरौं, जरिवानाबाट बचौं” भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस शिविरले स्थानीय व्यवसायीहरूलाई कर तिर्न सजिलो हुने उद्देश्यले आयोजना गरिएको छ। कार्यक्रमले स्थानीय स्तरमा कर संकलन प्रक्रियालाई सरल र प्रभावकारी बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमको पहिलो चरण वडा नं. ०७ मा सञ्चालन भएसँगै अन्य वडाहरूमा पनि क्रमशः शिविर सञ्चालन गरिने जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।