तिमी फेरि जन्मनुपर्छ : सुमित्रा बजगाइँ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
तिमी जन्मदा रक्तश्रावले चुर्लुम्म डुबेको
आमाको पेटिकोट
अनि तिमीले स्वतन्त्रता जन्माउदा
रगत लतपतिएका कपडा
आज दुबै सिम्रिक रङ्गको चन्द्र सूर्य बनेर
फहराईरहेका छन् हाम्रो शीरमा
हाम्रो पहिचान बनेर ।
जब तिमीले देशको अहम् जोगाउँदा
आफ्नो छातिमा
निर्धक्कले थाप्यौ गोलि
झुण्डियौ बिन्दास खरीको बोटमा
निडरताको किला गाड्यौ छातिमा ।
तब सोचेका थियौ होला
तिम्रो अस्तुसङ्गै पखाल्लिए कुशासन
लोकको जीवन सुकिला हुनेछन्
तिम्रो स्वरुपमा अनेक जन्मनेछन् ।
तर दुर्भाग्य तिमीले आमाको काख छोडेर
शहिदगेटमा ठिङ्रीङ्ङ शालीक बनेर उभिएदेखि
तुहिए आमाको कोख र बाझी भईन्
तिमीले फालेका कलङ्कहरु जन्मिरहे
फरक कोखमा ,
फरक रुप रङ्ग र नाम लिएर
सत्ता शक्ति र शासनको आडमा
तिम्रा सपनाहरु बेचेर
आफ्ना पदवी किनेका धर्मपुत्रहरुले
लुछिरहे आमाको स्वभिमान
हात्तिको बाहिरी दाँत देखाएर ।
दशकौदेखि आफूलाई मुर्ति बनाए
कति हेर्छौ तमासा,
अब तिमीले नै आमाको कोख हराभरा बनाउनुपर्छ ।
तिमी फेरि जन्मनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक