सकिनँ : रञ्जु खनाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
बाले मलाई पढ्न बाह्रखरी ल्याईदिनु भो
मैले तेह्रखरी ल्याईदिनुस् भन्न सकिनँ
बाले मलाई शुरुमा अ, आ …. पढाउनु भो
मैले ए, बी, सी ……. पढ्छु भन्न सकिनँ
बाले मलाई शुरुमा एक, दुई तीन … पढाउनु भो
मैले वन, टू, थ्री ….. पढ्छु भन्न सकिनँ
बाले मलाई बाह्रखरी बाहेक के के ल्याऊँ भन्नू भो
मैले एघारखरी ल्याइदिनुस पनि भन्न सकिनँ
बाले मलाई सरकारी स्कुलमा पढाउनु भो
मैले बोर्डिङ स्कुलमा पढ्छु भन्न सकिनँ
बाले मलाई यस एल सी दिएपछि बिहेगरिदिनु भो
मैले बिहे गर्दिनँ क्याम्पस पढ्छु भन्न सकिनँ
बाले मलाई केटी देखाउन तरकारी किन्न पठाउनु भो
मैले म पनि केटा हेर्छु भनेर जवाफ लाउन सकिनँ
बाले जसरी बिहे गरिदिनुभो त्यसैगरी बिहे गरेँ
यो चाहिन्छ त्यो चाहिन्छ भनेर माग गर्न सकिनँ
बिहे गरी घर आएपछि सबैको अनुकूल बनेँ
तर आफ्नो अनुकूल अरुलाई बनाउन सकिनँ
त्यसैले मैले जीवनमा केही पनि गर्न सकिनँ
सायद अब जीवनैभर पनि केही गर्न सक्तिनँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक